राजनीतिक स्थायित्व दिन ओली-‘प्रचण्ड’को नयाँ गठबन्धन : रघुवीर महासेठ

सफल खबर संवाददाता

शुक्रबार, ०२ चैत्र २०८०, १६ : ३७
राजनीतिक स्थायित्व दिन ओली-‘प्रचण्ड’को नयाँ गठबन्धन : रघुवीर महासेठ

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले देशमा राजनीतिक स्थायित्व दिनका लागि नेकपा एमाले माओवादी केन्द्रको नयाँ गठबन्धन बनाउनु परेको बताएका छन् ।

बुटवलमा शुक्रवारदेखि आयोजित रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को १६ औँ सम्मेलनमा बोल्दै उनले देशमा बढ्दै गएको आर्थिक तथा राजनीतिक संकट समाधानका लागि यो गठबन्धन बनेको उनले दाबी गरेका हुन् ।

‘अर्थतन्त्र संकटमा पर्‍यो, उद्योगधन्दा चल्नै नसक्ने भए, अन्य सबै क्षेत्र अस्तव्यस्त भयो, त्यस्तो अवस्थामा सरकारले राम्रोसँग काम गर्न सकेन त्यसमाथि राजनीतिक स्थायित्व पनि नभएकाले यसको समाधान गर्न एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले निकास दिन नयाँ गठबन्धन बनाउनुभएको हो’, उनले भने ।

नयाँ सरकारलाई काम गर्न चुनौती भए पनि स्पष्ट योजनाका साथ सुशासन, समृद्धि र सेवा प्रदान गर्नका लागि गठबन्धन बनेकाले सेवालाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने मन्त्री महासेठले बताए ।

यसअघिको सरकारले बजेट निर्माणदेखि कार्यान्वयनमा गरेको ठूलो कमजोरीका कारण अहिले देशका अधिकांश ठूला आयोजना अलपत्र परेको बताउँदै मन्त्री महासेठले भने, ‘शुरु भएका ठूला योजना सबै अलपत्र छन्, न्यून बजेट राखिएपछि यस्तो भएको हो, अलपत्र र अधुरा आयोजनालाई छिटो निर्माण गराउने र सरकारको सेवालाई प्राथमिकता दिने सरकारको मुख्य जिम्मेवारी रहेको छ ।’

प्रतिक्रिया दिनुहोस