ग्याल्पो ल्होसारले समृद्ध मुलुक निर्माण गर्न प्रेरणा मिलोस् : राष्ट्रपति

सफल खबर संवाददाता

सोमबार, २८ फागुन २०८०, ०७ : ५१
ग्याल्पो ल्होसारले समृद्ध मुलुक निर्माण गर्न प्रेरणा मिलोस् : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको  शुभकामना व्यक्त गरेका छन् । 

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो । ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबिच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास राष्ट्रपति पौडेलले आज जारी गरेको शुभकामना सन्देशमा व्यक्त गरेका छन् । 

नेपालको हिमालीसहित विभिन्न क्षेत्रमा  बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा विविध कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार मनाइन्छ । 

ल्होसार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।

ग्याल्पो ल्होसार पर्वले हामी सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपतिले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस