यातायातको बीसवर्षे नीति सच्याउन माग

सफल खबर संवाददाता

आइतबार, २७ फागुन २०८०, २१ : २५
यातायातको बीसवर्षे नीति सच्याउन माग

पोखरा । सार्वजनिक यातायातमा सरकारले लगाएको २० वर्षे हदबन्दीको नीति तत्काल संशोधन नगरे संकट निम्तिने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताएका छन् । बीसवर्षे नीतिले १० हजार सवारीसाधन विस्थापन हुने र स्वरोजगार मजदुरहरुका करिव १० अर्ब लगानी पलायन हुने अध्यक्ष राईले बताए ।

सरकारले यातायात व्यवसायी र मजदुरहरुलाई असर पार्ने यस्ता गलत नीति तत्काल संशोधन गर्न र यातायात व्यवसायी प्रालिहरुको रोक्का गरिएका सम्पति तत्काल फुकुवा गर्न समेत सरकारसंग अध्यक्ष राईले माग गरे । आइतबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको प्रदेशभरीका अगुवा कार्यकर्ताहरुको विस्तारित भेलामा अध्यक्ष राईले व्यवसायी प्रालिका करोडौं पैसा सरकारले फुकुवा नगर्दा सडक दुर्घटनाका पीडितहरुलाई राहत तथा उपचार गर्ने विषयमा समस्या भएको पनि बताए । 'यतिबेला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरिरहेको छ ।

मजदुर र व्यवसायीहरुका सुझावहरु प्रस्तुत गरिसकेका छौं । हामी सम्बोधन हुनेमा हामी आशावादी छौं । कतै सम्बोधन नभए देशमा संकट निम्तिन्छ', राईले भने । संगठन गण्डकी प्रदेश अध्यक्ष विष्णुबहादुर खत्रीको अध्यक्षतामा भएको भेलामा संविधानसभा सदस्य तथा संगठनका पूर्व केन्द्रीय अध्यक्ष चुडामणी जंगली, जिफन्ट गण्डकी अध्यक्ष रुद्रबहादुर खत्री, संगठनका महासचिव केशव थापा, उपमहासचिव विष्णु पराजुली लगायतले आफ्नो विचार राखेका थिए ।

प्रतिक्रिया दिनुहोस