नेपाल टेलिकमको 'ब्रान्ड एम्बेस्डर'मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त

सफल खबर संवाददाता

आइतबार, २७ फागुन २०८०, १२ : ३८
नेपाल टेलिकमको 'ब्रान्ड एम्बेस्डर'मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त

काठमाडौं। नेपाल टेलिकमको 'ब्रान्ड एम्बेस्डर'मा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त भएका छन् ।हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ट पहिचान बनाएका मह जोडीलाई टेलिकमले आगामी एक वर्षका लागि 'ब्रान्ड एम्बेस्डर' नियुक्त गरेको हो ।

नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आइतवार आयोजित एक कार्यक्रममा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक अर्यालले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आबद्धता महत्वपूर्ण रहेको बताइन् । ब्रान्ड एम्बेस्डरमार्फत कम्पनीका विभिन्न सेवाहरूका बारेमा जनतालाई समयमै सु-सूचित गर्ने कार्यमा सहयोग पुग्ने उनको विश्वास छ ।कार्यक्रममा ब्रान्ड एम्बेस्डरद्वय श्रेष्ठ र आचार्यले स्वदेशी लगानी भएको नेपाल टेलिकम जस्तो गरिमामय सरकारी निकायसँग आबद्ध हुन पाउँदा गौरवान्वित महसुस भएको बताएका थिए ।

मुलुकको कलाकारिता तथा सञ्चारको क्षेत्रमा विशिष्ट पहिचान बनाएका ब्रान्ड एम्बेस्डरहरूको संलग्नताबाट कम्पनीका ग्राहकवर्गले कम्पनीका विविध सेवा सम्बन्धमा सहज रुपले जानकारी प्राप्त गर्ने र कम्पनीले आफ्ना सेवाहरूको प्रबर्द्धन गरी सशक्त रुपमा जनता समक्ष सेवा विस्तार गर्ने कार्यमा सहयोग मिल्ने कम्पनीको अपेक्षा छ ।

यसैगरी सञ्चारकर्मी श्री पाण्डे र डा. सन्तोष उपाध्यायलाई कम्पनीले यसअघि नै 'ब्रान्ड प्रमोटर' नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस