कोशी प्रदेशका मुख्यमन्त्री र बंगलादेशका राजदूतबिच भेटवार्ता

सफल खबर संवाददाता

शनिबार, २६ फागुन २०८०, २० : ३२
कोशी प्रदेशका मुख्यमन्त्री र बंगलादेशका राजदूतबिच भेटवार्ता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र बंगलादेशका राजदूत सलाहुद्दीन नोमन चौधरीसँग शिष्टाचार भेट भएको छ । विराटनगरमा चलिरहेको राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रबद्र्धनका लागि आएका राजदूत चौधरीसँगको भेटमा मुख्यमन्त्री कार्कीले दूधजन्य वस्तु र मासुको निर्यातमा सहयोग गर्न आग्रह गरेका थिए । 

‘भेटका क्रममा मुख्यमन्त्रीज्यूले प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ र मासुजन्य उत्पादन बंगलादेश निर्यातका लागि सहजीकरणको पहल गर्न ध्यानाकर्षण गराउनु भयो,’ मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

‘बंगलादेश दुरीका हिसाबले पनि र अन्य हिसाबले पनि हाम्रो नजिकको छिमेकी हो । बंगलादेशको स्वतन्त्रतासँग बिपी कोइरालाको पनि सम्बन्ध जोडिन्छ,’ भेटका अवसरमा मुख्यमन्त्री कार्कीले भनेका थिए, ‘बिपी कोइरालाको गृह नगर विराटनगरसँग तपाईँहरू पनि सकारात्मक हुनुहुन्छ । यहाँ देखिएको दूध र मासु निर्यातको सहजीकरण गरिदिनुहुन्छ भन्ने विश्वास छ ।’

मुख्यमन्त्री कार्कीलाई जवाफमा राजदूत चौधरीले राँगाको मासु चाइना पठाउनु भन्दा बंगलादेश पठाउन सहज हुने र डिमाण्ड पनि बढी भएको भन्दै दुरी, भाषा, रहनसहन र धर्मको हिसाबले पनि नेपालले व्यापार गर्न बंगलादेश नै सहज हुने बताएका थिए ।   

उनले दूधमा लाग्ने गरेको ७८ प्रतिशत ड्युटी हटाएर नेपालको दूध निर्यातको लागि सहज वातावरण बनाउने विषयमा पनि प्रतिबद्धता जनाएका थिए । ‘विशेष गरी धार्मिक टुरिजम, प्राकृतिक टुरिजमको विकास तथा दूध र मासु निर्यातको विषयमा केन्द्रित छलफल भयो,’ मुख्यमन्त्री कार्कीले भने ।

भेटका अवसरमा विराटनगरबाटै बंगलादेशसम्मको सोझो हवाइ उडानको लागि पनि पहल गर्न अनुरोध गरेको कार्कीले बताए । कोशी प्रदेश सरकारको सहयोगमा मोरङ क्रिकेट संघको आयोजनामा गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा भइरहेको राष्ट्रिय प्रतियोगितामा सहभागी हुन राजदूत चौधरी विराटनगर आएका हुन् ।

सोही क्रममा उनले मुख्यमन्त्रीलाई भेटेका हुन् । ‘यो साइडलाइन वार्ता जस्तो हो, औपचारिक होइन,’ मुख्यमन्त्री कार्कीले भने, ‘उहाँले अनौपचारिक रूपमा भए पनि बंगलादेश भ्रमण गर्न अनुरोध गर्नुभयो  । 

प्रतिक्रिया दिनुहोस