नयाँ गठबन्धनलाई दायाँ बायाँ गर्ने छुट छैन : झलनाथ खनाल

सफल खबर संवाददाता

शनिबार, २६ फागुन २०८०, १० : २५
नयाँ गठबन्धनलाई दायाँ बायाँ गर्ने छुट छैन : झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धनलाई दायाँ बायाँ गर्ने छुट नभएको बताएका छन् । वाम लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनु सकारात्मक भएको भन्दै उनले अव देशमा विद्यमान समस्या समाधानमा एक जुट भएर लाग्नुपर्ने बताए । 

नयाँ समीकरणको सरकारलाई शुभकामना व्यक्त गर्दै उनले लेखेका छन्– 'हाम्रो देशमा एक वर्ष अघि बनेको गठबन्धनको सरकार टुटेको छ र वामपन्थी शक्तिहरूको पहल र नेतृत्वमा यही २१ फागुनमा नयाँ बाम–लोकतान्त्रिक गठबन्धनको सरकारले आकार लिएको छ । यो नेपालको समकालीन राजनीतिक परिस्थितिमा आएको एउटा महत्त्वपूर्ण सकारात्मक परिवर्तन हो । यो नयाँ सरकारलाई सर्वप्रथम हाम्रो पार्टीको तर्फबाट म हार्दिक स्वागत र समर्थन गर्दछु ।'

'आजको त्रिशंखु संसदमा कुनै पनि पार्टीको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनु अनिवार्य नै थियो र छ । तर विगतको गठबन्धनले अघि सारेका नीति, कार्यक्रम र बजेटले जनता र राष्ट्रको कुनै पनि आधारभूत समस्याहरूलाई सम्बोधन गर्न सकेन । देशको राजनीति, अर्थतन्त्र, सामाजिक तथा सांस्कृतिक स्थिति र राष्ट्रियता सबै क्षेत्र झनझन सङ्कटग्रस्त बन्दै गइरहेको थियो । बेरोजगारी र भ्रष्टाचार झन् व्यापक बन्दै गएको थियो र देशका युवाहरू बाहिर जाने क्रम झनझन तीव्र बनिरहेको थियो । त्यसले गर्दा वामपन्थी एकताको माग दिन प्रतिदिन बढिरहेको थियो', उनले भनेका छन् । 

जनचाहना र मुलुकको आवश्यकतालाई प्रतिबिम्बित गर्दै  बाम लोकतान्त्रिक शक्तिहरूको नयाँ सरकार बनेकोले यो सरकारमा आफ्नो पार्टी पनि सहभागी बनेको उनले बताए ।  नयाँ सरकार बन्दा आमजनतामा नयाँ आशाको सञ्चार भएको छ र मुलुकका वामपन्थी, देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरू समेत यो सरकारप्रति सकारात्मक देखिएको खनालले बताएका छन् । 

खनालले थप भनेका छन्– 'यतिबेला विश्वको परिस्थिति अत्यन्त तनावयुक्त बन्दै गएको छ । भूराजनीतिक शक्तिहरू बीचको प्रतिस्पर्धा तीव्र बनिरहेको छ । त्यसले गर्दा द्धन्द, हिंसा र युद्धका क्षेत्रहरू फैलिरहेका छन् । कतै विश्व युद्ध त हुने होइन भन्ने आशङ्का देखिन थालेको छ । हाम्रो देशको रणनीतिक महत्वका कारणले भूराजनीतिक शक्तिहरूको चासो दिन प्रतिदिन बढिरहेको छ । यस्तो स्थितिमा हामीले मुलुकको सर्वोपरि राष्ट्रिय हितलाई ध्यानमा राख्दै सन्तुलित विदेश नीतिलाई अख्तियार गर्दै हाम्रा अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोगहरूलाई अघि बढाउनु पर्ने चुनौतीपूर्ण आवश्यकता हाम्रा सामु छन् । '

मुलुकमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन भएन भन्ने गुनासो चर्कोको अवस्थामा देशका श्रमजीवीहरू, भूमिहीन, गरिब र सुकुम्वासी जनताका समस्याहरू समाधान गर्न भूमिसुधार गर्नुपर्ने, कृषि उत्पादनलाई व्यापक बनाउने, कृषि क्रान्तिलाई अघि बढाउनुपर्ने, मुलुकलाई राष्ट्रिय औद्योगीकरणको दिशामा अघि बढाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गर्नुपर्ने, मंहगी र मूल्य वृद्धिलाई नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारलाई माथि देखि तलै सम्म निर्ममतापूर्वक नियन्त्रण गर्नुपर्ने जिम्मेवारी नयाँ गठबन्धन सरकारको काँधमा आएको उनले स्मरण गराएका छन् ।