पूर्वाञ्चल विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा.शैलेषमणि पोखरेल नियुक्त

सफल खबर संवाददाता

शुक्रबार, २५ फागुन २०८०, १३ : १६
पूर्वाञ्चल विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा.शैलेषमणि पोखरेल नियुक्त

काठमाडौं । सरकारले पूर्वाञ्चल विश्वविद्यालयको निमित्त उपकुलपतिमा चिकित्सा शास्त्र संकायका डीन डा.शैलेषमणि पोखरेललाई नियुक्त गरेको छ । पोखरेललाई रिक्त उपकुलपति पद पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्नका लागि उपकुलपति नियुक्ति गरिएको हो । ऐन अनुसार विश्वविद्यालयको कुनै पद रिक्त भएमा सो पदपूर्ति नभएसम्म बढीमा तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले तोक्ने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार जिम्मेवारी पाएको पोखरेलले बताए । उनले भने ‘मलाई पूर्वाञ्चल विश्वविद्यालय ऐन अनुसार जिम्मेवारी दिइएको पत्र दिइएको छ ।’ १८ फागुनमा उपकुलपति प्रा.डा.यादव कोइरालाको कार्यकाल सकिएपछि रिक्त रहेको थियो ।

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट प्रकृयामा रहेको छ । तत्कालीन शिक्षामन्त्री अशोकुमार राईको संयोजकत्वमा बनेको उपकुलपति छनोट तथा सिफारिस समितिले आवेदकहरुको सोचपत्र र कार्ययोजनाको मूल्याङ्कनको काम सकिएर प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिने तयारी भइरहेको बेला सत्ता गठबन्धन हेरफेरपछि प्रकृया रोकिएको थियो ।

तर अब त्यहि प्रकृयाले निरन्तरता पाउने शिक्षा सचिव सुरेश अधिकारीले बताए । उनले भने ‘त्यहि प्रकृया जारी रहन्छ । नयाँ प्रकृया सुरु हुँदैन ।’ कार्यविधि अनुसार काम भइरहेकोले मन्त्री परिवर्तन भएपनि प्रकृया निरन्तर रहने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस