प्रदेशभित्रका सरकारी अस्पतालको सेवा चित्तबुझ्दो छैन : मुख्यमन्त्री यादव

सफल खबर संवाददाता

आइतबार, २० फागुन २०८०, १३ : ३४
प्रदेशभित्रका सरकारी अस्पतालको सेवा चित्तबुझ्दो छैन : मुख्यमन्त्री यादव

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशभित्रका सरकारी अस्पतालको सेवा गुणस्तरीय नरहेको बताएका छन् । चिकित्सक दिवसको अवसर पारेर जनकपुरमा आयोजित मधेस स्वास्थ्य शिखर सम्मेलन–२०२४ को उद्घाटन गर्दै मुख्यमन्त्री यादवले यस्तो गुनासो गरेका हुन् । 

आफ्नो प्रदेशमा स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ छ । तर राजनीतिकका कारणले मधेशको स्वास्थ्य क्षेत्र थला परेको उनको तर्क छ । त्यसकारण खासगरी स्वास्थ्य क्षेत्रसंगै शिक्षा क्षेत्रलाई पनि राजनीतिबाट टाढा राख्नु पर्ने जरुरी रहेको उनको भनाइ छ । 

उनका अनुसार स्वास्थ्य क्षेत्रमा देखिएको समस्याको सुधार भौतिक प्रगतीले मात्रै सम्भव हुँदैन । उनले भने, ‘प्रदेश सरकार स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार व्यवस्थापनको क्षेत्रमा तीव्र गतिको स्पीडमा छ, अव चिकित्सकहरुले पनि आफनो धर्म निर्वाह त्यही गतिमा गर्नुप¥यो । अनि समस्या आफै समाधान हुन्छ । बाँकी अस्पताललाई चाहिने हरेक सामग्री दिन्छौं, अब गुणस्तरीय सेवा प्रवाह गरिदिने जिम्मा तपाइहरुको हो ।’चिकित्सकहरुकै माग अनुसार मधेश सरकारले करारका चिकित्सकहरुको लागि ४५ वर्ष उमेर निर्धारणसमेत गरेको मुख्यमन्त्री यादव बताउँछन् । यसलाई अब छिट्टै कानुन नै संशोधन गरेर लोक सेवामासमेत सोही उमेर निर्धारण गरिने तयारी गरिरहेको मुख्यमन्त्री यादवले सुनाए । 

उनले भने, ‘चिकित्सकहरुको पारिश्रमिक सम्बन्धि गुनासोलाई मध्यनजर गरिएको छ, समस्या सम्बोधनका लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुलाई थप ४० प्रतिशत भत्ता दिन थालिएको छ ।’  प्रदेश मातहतका प्रादेशिक अस्पतालहरुलाई १०० बेडमा स्तरोन्नति गर्नुका साथै थप ५ वटा अस्पताललाई ५० बेडको बनाउने कार्य भइरहेको मुख्यमन्त्री यादवको भनाइ छ ।  मधेसमा स्वास्थ्य क्षेत्रमा डमाडोल रहेकोले यो क्षेत्रको विकासका लागि कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै मुख्यमन्त्री यादवले मधेशको समृद्धिका लागी शिक्षा र स्वास्थ्य क्षेत्रलाई मधेश सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । 

चिकित्सक संघ जनकपुर शाखाका अध्यक्ष डा. रामजी यादवको अध्यक्षतामा भएको उक्त उदघाटन सत्रमा मधेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहले प्रा डा. जयनाथ साह, डा. निरज सिंह, डा. अनिल बिक्रम कार्की सहितले आफ्नो धारणा राखेका थिए ।
 

प्रतिक्रिया दिनुहोस