५० लाख ठगी गर्ने चार जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २० फागुन २०८०, १३ : १३
५० लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ । करिब ५० लाख ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालबाट विभिन्न प्रलोभन देखाएर उनीहरूले सो रकम ठगी गरेका हुन् ।पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका ४ घर भई पुरानो बानेश्वर काठमाडौँ बस्ने २१ वर्षीय आदित्य कुमार सिंह, सोही ठाउँका २० वर्षीय सिद्धार्थ कुमार सिंह रहेका छन् ।

यस्तै बारा कलैया उपमहानगर ११ घर भई भक्तपुर गट्ठाघर बस्ने २२ वर्षका रामसेवा राम र पर्सा विरगंग १५ घर भई गट्ठाघर भक्तपुर बस्ने २४ वर्षका आकाश साह सोनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।उनीहरूले सामाजिक सञ्जालमा नक्कली एकाउन्ट बनाएर महँगो ब्राण्डका मोबाइल सस्तोमा दिने, आकर्षक तलबमा विदेश पठाउने लगायतका प्रलोभन देखाएर ४९ लाख ५८ हजार ८ सय रकम ठगेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जाल फेसबुक, इमो भाइबर, टिकटक र इन्स्टाग्राम लगायत एप प्रयोग गरी विभिन्न अकाउन्ट बनाएर फ्रेन्ड रिक्वेस्ट पठाउने र जमजम इलेक्ट्रोनिक नाम फेसबुक पेजबाट महँगो ब्रान्डका मोबाइल सेटहरू सस्तो मूल्यमा खरिद विक्री वितरण गरेको लाइभ भिडिओ पेजमा पोस्ट गरी ठग्ने गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस