बागमती प्रदेशसभा बैठक २९ गतेसम्मका लागि स्थगित

सफल खबर संवाददाता

विहीबार, १७ फागुन २०८०, १६ : ०९
बागमती प्रदेशसभा बैठक २९ गतेसम्मका लागि स्थगित

हेटौँडा । बागमती प्रदेशसभाको बैठक फागुन २९ गतेसम्मका लागि स्थगित गरिएको छ । बिहीबार प्रदेशसभाको दोस्रो बैठक पश्चात् सभामुख भुवन कुमार पाठकले फागुन २९ गते दिउँसो ३ बजेसम्मका स्थगित गरेका हुन् ।

संसद्को पहिलो बैठकमा सरकार र प्रतिपक्ष दलको बजेटमाथिको विवाद समाधान गर्न विशेष समिति गठन गरिएको थियो भने सोही बैठकमा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयबाट संसदमा दर्ता भएको प्रदेश हस्तकला ग्राम स्थापना सम्बन्धी विधेयक पेस गरिएको थियो ।

उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले पेस गरेको उक्त विधेयक ससदले स्वीकृत गरेको थियो ।त्यसपश्चात् १५ मिनेटका लागि स्थगित गरिएको प्रदेशसभा बैठक दिउँसो ३ बजेट पुनः बसेको थियो ।

सो बैठकमा संसदमा पेस भएको प्रदेश हस्तकला ग्राम स्थापना सम्बन्धी विधेयकको सैद्धान्तिक छलफल भएको थियो । विधेयकमाथि सांसद शैलेन्द्रमान बज्राचार्यले मात्र विधेयक माथिको छलफलमा भाग लिएका थिए । बज्राचार्यले देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा हस्तकला उद्योगहरू रहेको बताए । उनका अनुसार वार्षिक १२ अर्ब रुपैयाँ भन्दा बढीको हस्तकला सामग्रीहरू निर्यात हुने गरेको छ ।

बैठकमा सो विधेयक माथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चित्रकारले देशको कुल ग्राहस्थ उत्पादनमा हस्तकला उद्योगको योगदान महत्वपूर्ण रहेको बताए । हस्तकला उद्योगका सामग्रीहरू निकासीबाट उत्पादन मध्येको ठुलो अंश आर्थिक उपलब्धि प्राप्त भइरहेको उनको भनाइ थियो ।

छलफल पश्चात् मन्त्री चित्रकारले उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव संसदमा पेस गरेका थिए । मन्त्री चित्रकारले पेस गरेको उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुख पाठकले निर्णायार्थ पेस गर्दा सर्वसम्मतिले स्वीकृत भयो । लगत्तै सभामुखले बैठक फागुन २९ गतेसम्म स्थगित भएको घोषणा गरे।

प्रतिक्रिया दिनुहोस