भ्रष्टाचार मुद्दामा मुछिएपछि कोशीका नेता गगनले दिए राजीनामा

सफल खबर संवाददाता

मंगलबार, १५ फागुन २०८०, १४ : ३३
भ्रष्टाचार मुद्दामा मुछिएपछि कोशीका नेता गगनले दिए राजीनामा

विराटनगर । भ्रष्टाचार मुद्दामा मुछिएपछि माओवादी केन्द्र कोशी प्रदेशका कोषाध्यक्ष रेवतराज पुरी (गगन) ले राजीनामा दिएका छन् । परिवारसहित उनीमाथि सार्वजनिक सम्पत्ति आफ्नो नाममा पारेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

झापाको दमक नगरपालिका-१३ र १४ को सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दाको प्रतिवादी १७२ जनाको सूचीमा पुरी पनि परेका छन् ।

उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा दायर मुद्दामा पनि दोषी ठहर भएका छन् । गगनविरुद्ध चार करोडभन्दा बढी सम्पत्तिको स्रोत नखुलेको भन्दै जरिवानासहित सजायको फैसला भएको थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई सम्बोधन गर्दै उनले राजीनामा बुझाएका छन् । उनले लेखेको राजीनामा पत्रमा आफ्नो पैतृक जमिनसँग सम्बन्धित भई विशेष अदालतले गरेको फैसला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको कारण पार्टी छाड्नुपरेको बताएका छन् ।

बुबा भगवान् पुरीले २००२ सालदेखि जङ्गल फडानी गरी करिब ६० बिगाहा जमिन जोत भोग गरेको दाबी गर्दै उनले २०२१ सालमा बुवाको नाममा २४ बिगाहा र आमा रुपादेवी पुरीको नाममा ४ बिगाहा १४ कट्टा १० धुर गरी जम्मा २९ बिगाहा १४ कट्ठा १० धुर जग्गाको धनिपुर्जा आफ्नो परिवारसँग रहेको र आफू निर्दोष रहेको जिकिर गरेका छन् ।

रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फ साबिक ‘दमक ६ ग’ को सर्पट नापीको समयमा कित्ता नम्बर ७६०-१, ७६१, ७६२, ७७३, ७८३, ७८४, ७८६, ७८७, ७८८ र साबिक दमक ६ ग र दमक ५ ख बीचको मार्जिनका सरकारी जग्गाहरू व्यक्तिको नाममा घुसाएर हालसाविक प्रक्रियाबाट दर्ता गरेको ठहरसहित चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृत विष्णुकुमार न्यौपाने तथा सुरु जग्गा दर्तावाला गगनसहितलाई मुद्दा हालिएको हो ।

प्रतिक्रिया दिनुहोस