नेविसंघको पहिलो बैठक स्थगित गर्न देउवाको निर्देशन

सफल खबर संवाददाता

मंगलबार, १५ फागुन २०८०, ११ : ३१
नेविसंघको पहिलो बैठक स्थगित गर्न देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको आज बस्न लागेको पहिलो बैठक स्थगित भएको छ । तदर्थ समिति विस्तार भएको ६ महिनापछि बस्न लागेको पहिलो बैठक सभापति शेरबहादुर देउवाको निर्देशनपछि स्थगित भएको हो ।

पहिलो बैठक नै विवादमा परेपछि सभापति शेरबहादुर देउवाले विवाद मिलाएर मात्र बैठक गर्न नेविसंघ अध्यक्ष डुजाङ शेर्पालाई निर्देशन दिएका थिए ।संस्थापन इतर समूहका नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले पार्टी सभापति देउवाले नेविसंघ भित्रका विवाद र समस्या समाधान गरेर मात्र बैठक राख्न अध्यक्षलाई निर्देशन दिएको बताए ।

२०७८ चैत ९ मा संघको अध्यक्षमा शेर्पा मनोनीत भएका थिए । गत साउनको २३ गते ७१० जना थपेर तदर्थ समिति बनाइएको थियो । कूल ७११ जनाको केन्द्रीय समितिमा २०९ जना संस्थापन इतर समूहका छन् ।

उनले संस्थापन इतर समूहमा रहेका केन्द्रीय सदस्यहरूले संगठन भित्रको विवाद, आन्तरिक समस्या र अध्यक्षका अवैधानिक गतिविधिबारे पार्टी सभापतिको ध्यानाकर्षण गरेपछि पार्टी नेतृत्वबाट निर्देशन आएको बताए ।

संघ अध्यक्ष दुजाङ शेर्पाले मनोमानी निर्णय गरेको भन्दै बैठकबारे आफूहरूलाई थाहा नभएको र बैठक बोलाउनेबारे कुनै छलफल नभएको इतर समूहको दाबी छ । काठमाडौं, धादिङ, सुनसरी, दोलखा, मकवानपुर, बारा, नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) लगायतका जिल्लामा पार्टीका जिल्ला सभापतिको सिफारिस विपरीत नेविसंघको जिल्ला अध्यक्ष तोकिएको, महाधिवेशन पूर्व गर्नुपर्ने आधारभूत कामहरू समेत नगरेर नेविसंघको १२ औँ महाधिवेशनको कार्य तालिका सार्वजनिक गरिएको भन्दै इतर समूहले बैठकमा सहभागी नहुने अडानमा थियो ।