आईपीएल सुरु हुनुअघि जयपुर रंगशालामा तालाबन्दी

सफल खबर संवाददाता

आइतबार, १३ फागुन २०८०, १५ : ०१
आईपीएल सुरु हुनुअघि जयपुर रंगशालामा तालाबन्दी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजन सुरु हुन एक महिनाभन्दा कम समय बाँकी रहँदा राजस्थान खेलकुद परिषद्ले राजस्थानको जयपुरस्थित सवाई मान सिंह क्रिकेट रंगशालामा ताला लगाएको छ ।

आगामी मार्च २२ तारिखमा सुरु हुने आईपीएलका केही खेल उक्त रंगशालामा पनि खेलाइने कार्यक्रम रहेको छ । राज्य क्रिकेटको नेतृत्वदायी निकायले बुझाउनु पर्ने बक्यौता भुक्तानी नगरेको र अन्य दायित्व पनि पुरा नगरेको भन्दै परिषद्ले‍ रंगशालामा ताला लगाएको हो ।

राजस्थान खेलकुद परिषद्‍ले रंगशालासँगै राजस्थान क्रिकेट एसोसिएसनको कार्यालय र एकेडेमीमा पनि ताला लगाएको छ । यसअघि राजस्थान खेलकुद परिषद्का सदस्यसचिव सोहनराम चौधरीले राज्य क्रिकेट संघलाई बक्यौता भुक्तानी गर्न र अन्य दायित्व पुरा गर्ने भन्दै पत्र पनि पठाएका थिए ।

तर, लामो समयसम्म राज्य क्रिकेट संघबाट कुनै जवाफ नआएपछि तालाबन्दी गरिएको समाचारमा जनाइएको छ । ‘हामीले परिषद्को तर्फबाट राज्य क्रिकेट संघलाई निकैपटक पत्राचार गरेका थियौँ तर उताबाट कुनै जवाफ नआएपछि बाध्य भएर ताला लगाउनु परेको हो,’ सदस्यसचिव चौधरीले भनेका छन् ।

सवाई मान सिंह रंगशाला आईपीएल क्लब राजस्थान रोयल्सको घरेलु मैदान पनि हो । त्यो रंगशालामा आगामी मार्च २४ तारिखमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्ससँग आफ्नो पहिलो खेल खेल्ने कार्यक्रम रहेको छ । सोही रंगशालामा मार्च २८ तारिखमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबिच खेल हुनेछ ।  

प्रतिक्रिया दिनुहोस