तीन मन्त्रीलाई बर्खास्त गर्न एमालेले दियो सरकारलाई ३ दिनको अल्टिमेटम

सफल खबर संवाददाता

शुक्रबार, ११ फागुन २०८०, १६ : २१
तीन मन्त्रीलाई बर्खास्त गर्न एमालेले दियो सरकारलाई ३ दिनको अल्टिमेटम

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौँलाले प्रतिपक्षले नभइ सत्तापक्षकै सांसदहरूको कारणले संसद अवरोध भएको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूको आरोप-प्रत्यारोपछि बैठक स्थगित भएपछि आज संसद् प्रमुख प्रतिपक्ष दलले अवरोध नगरेको प्रष्ट पारे ।

उनले भने, ‘संसदलाई गलत दिशातर्फ लाने काम सत्तापक्षकै सांसदहरूले गर्नुभएको छ । संसदमा प्रतिपक्षले सरकारलाई खबरदारी गर्न पाउँछ कि पाउँदैन ? सरकारले कानूनभन्दा बाहिर गएर जे गतिविधि रहेका छन् । हामीले सभामुखमार्फत् सरकारलाई प्रश्न गरिरहेका छौं । प्रतिरक्षाको लागि प्रधानमन्त्री र मन्त्रीहरु संसद्‍मा आउनुहुन्न । प्रतिरक्षाका लागि सत्तापक्षका सांसदहरू पाखुरा सुर्केर आउनुहुन्छ । त्यो दुखद् हो ।’

उनले संसद्‍मा छलफलको लागि एक चौथाइ सामर्थ्य नदेखाउने सरकार अनि प्रतिपक्षलाई प्रश्न गर्न मिल्छ ? भन्दै प्रश्न गरे । ‘सरकार बहुमतमा छ भन्ने अनि हामीले बहुमत पुर्‍याइदिनुपर्ने ?’, उनको तर्क छ । सांसदहरूबीचको आरोप प्रत्यारोपछि १५ मिनेटका लागि स्थगित भएको बैठक अझै सुरू हुन सकेको छैन।