सरकारले सुशासनका पक्षमा ऐतिहासिक काम गरेको छ: गृहमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

शुक्रबार, ११ फागुन २०८०, ०९ : १७
सरकारले सुशासनका पक्षमा ऐतिहासिक काम गरेको छ: गृहमन्त्री श्रेष्ठ

नेपालगन्ज। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले सुशासनका पक्षमा ऐतिहासिक काम गरेको बताएका छन् । नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यही कारण ललिता निवासको खर्बौंको जग्गा राज्यलाई फिर्ता आउनसकेको बताए । 

बाँसबारी छालाजुत्ताको जग्गासमेत राज्यलाई फिर्ता आउने विश्वास उनले व्यक्त गरे । अतिक्रमण वा कब्जा गरिएका सरकारी जग्गा फिर्ता ल्याउने तथा त्यस्तो गर्नेलाई कारबाही गर्ने प्रक्रिया प्राथमिकता साथ अगाडि बढाइएको उनले बताए ।

शक्तिको आडमा कोही बच्न नसक्ने भन्दै कसैको प्रभावमा नपरी ढुक्कसँग काम गर्न उनले सुरक्षा निकायका प्रमुखहरूलाई  निर्देशन दिए । ​

सोसफोर्सको पछि नकुद्न र राजनीतिक शक्तिको अवाञ्छित दबाब नझेली सेवा एवम् सुशासनमा दत्तचित्त हुन उनले निर्देशन दिए । 

गोष्ठीमा प्रदेशका १२ जिल्लाकै सुरक्षा अवस्था र चुनौतीबारे सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले विवरण प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस