२२ बुँदे प्रस्ताव पारित गर्दै एमाले बैठक सम्पन्न (प्रस्तावसहित)

सफल खबर संवाददाता

विहीबार, १० फागुन २०८०, १९ : ४४
२२ बुँदे प्रस्ताव पारित गर्दै एमाले बैठक सम्पन्न (प्रस्तावसहित)

काठमाडौं । नेकपा एमालेले विभिन्न २२ वटा प्रस्ताव पारित गरेको छ । केन्द्रीय कमिटीको बैठकले गठबन्धन सरकार र गतल प्रवृत्तिका पात्रको राष्ट्रिय हितमा आघात पुर्‍याएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

उनले भने, ‘मुलुक तस्करी र भ्रष्टाचारको गहिरो दलदलमा फँस्दै गएको छ । सञ्चारमन्त्री टेरामक्स खरिद प्रक्रियाको अनियमिततामा मुछिएका छन् । बालकुमारी घटना छानबिन आयोगले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री निर्लज्जतापूर्वक झण्डा हल्लाएर हिँडिरहेका छन् । सरकारको भ्रष्टाचार नियन्त्रणको नारा स्टण्टबाजीमा परिणत भएको छ ।’

गठबन्धनमा आबद्ध भएकै कारण ललिता निवास काण्डका मुख्य निर्णयकर्ताहरूलाई उन्मुक्ति दिइएको उल्लेख गर्दै उनले सुन तस्करीमा मुछिएका आफ्नो पार्टीका नेतालाई सफाइ दिइएको आरोप लगाए ।

उनले भने, ‘विभिन्न काण्डहरूको छानबिनमा व्यवसायीहरूपिच्छे दोहोरो मापदण्ड अपनाइएको छ र आफ्ना मान्छेहरूलाई अपराधबाट उन्मुक्ति दिन न्यायालयलाई प्रभावित र महान्यायाधिवक्ता कार्यालयको दुरूपयोग गरिएको छ । गठबन्धनका मान्छे मुछिएका मुद्दाहरूमा पक्षपातपूर्ण न्याय निरूपण आमविषय बनेको छ । सरकारकै संरक्षणमा तस्करी र अवैध कारोबारीहरूमार्फत् समानान्तर अर्थतन्त्र चलाइएका कारण राजस्व सङ्कलन निरन्तर घटिरहेको र अन्तर्राष्ट्रिय संस्थाहरूको दृष्टिमा नेपालको विश्वसनीयता र साख खस्किँदै गएको छ । यो बैठक तस्करी र भ्रष्टाचारलाई संरक्षण गर्ने सरकार र शासन सञ्चालनमा उसको द्वैध चरित्रको विरोध गर्दछ । टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विभिन्न विवादमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न माग गर्दछ ।’

एमालेले प्रहरीद्वारा अन्धाधुन्ध बल प्रयोगका कारण ललितपुरको बालकुमारीमा दुई र सर्लाहीको बरहथवामा एक युवाको अनाहकमा ज्यान गएको छ । उक्त घटनाप्रति खेद व्यक्त गर्दै दोषीहरूलाई कारबाही गर्न, मृतकहरूका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन र नागरिकहरूको जीवनमा यसरी खेलबाड गर्दै नगर्न सरकारलाई चेतावनी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस