बालकुमारी घटनामा मन्त्री ज्वाला जिम्मेवार

सफल खबर संवाददाता

शनिबार, ०५ फागुन २०८०, ०८ : ४७
बालकुमारी घटनामा मन्त्री ज्वाला जिम्मेवार

काठमाडौँ । बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसरबाट सिर्जना भएको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि जिम्मेवार देखिएका छन् । 

बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले शुक्रबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वालालाई दोषी देखाइएको छ । 

त्यसपछि पीएसओ र अपरेसन कमाण्डर घटनामा जिम्मेवार रहेको आयोगको निष्कर्ष छ । भाषा परीक्षामा सहभागी हुनुपर्ने माग गर्दै १३ पुसमा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसरमा प्रदर्शन भएको थियो । 

त्यही बेला भौतिक पूर्वाधारमन्त्री ज्वालाको गाडी आएपछि प्रदर्शनकारी उत्तेजित भएर सो घट्ना भएको आयोगको निष्कर्ष रहेको छ । ‘मन्त्री गाडी छोडेर हिँडे, तर प्रदर्शनकारीले मन्त्रीको गाडीमा तोडफोड र आगजनी गरेको थिए’, आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

मन्त्रीले गाडी छाडेर हिँडेपछि गाडीमा आगजनी भएको र त्यसलाई रोक्न  प्रहरीले हानेको गोली लागेर अछामका वीरेन्द्र शाहको मृत्यु भयो भने अर्का मृतक दैलेखका सुजन रावतलाई बन्दुकको कुन्जाले हानेको सो अनुसन्धानको क्रममा देखिएको छ । 

त्यसका आधारमा डीएसपी लम्साल र मन्त्रीका निजी सुरक्षा अधिकारी (पीएसओ) बोधराज अधिकारीलाई निलम्बन गरिएको थियो भने ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख सिद्धिविक्रम शाहको सरुवा गरिएको थियो ।

साथै घटनाबारे जाँचबुझ गर्न सरकारले उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल  अध्यक्षतामा आयोग बनेको थियो । 

आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगको निष्कर्षलाई कार्यान्वयन गरिने बताएका छन् । 

आयोगका अध्यक्ष पौडेलका अनुसार घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य मानिससहित १६ जनाको बयान कागज गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवम् अन्यसमेत गरी २९ जनाको बयान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस