भरतपुर विमानस्थलको विस्तारको कार्य सुरु, सोमबारदेखि सर्वे हुने

सफल खबर संवाददाता

शुक्रबार, ०४ फागुन २०८०, १९ : १७
भरतपुर विमानस्थलको विस्तारको कार्य सुरु, सोमबारदेखि सर्वे हुने

चितवन । भरतपुर विमानस्थलको विस्तारको प्रकृया अघि बढेको छ । शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकले विमानस्थलको विस्तारको प्रकृया तत्काल बढाउने सहमति भएको हो ।

विस्तारका लागि सर्वे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरुप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्वे) गरिने भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सन्तोष आर्चायले जानकारी दिए ।

सर्वे आगामी सोमबारबाट सुरु गरी एक हप्ताभित्र सक्ने गरी काम थालिने छ । नगर प्रमुख, रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, नेपाल नागरिक प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहित बसेको बैठकले विमानस्थल विस्तारको काम र घोडा प्रजन्नन केन्द्रको शक्तिखोरमा स्थान्तरण गर्ने कार्य एक साथ अगाडि बढ्ने बताइएको छ । सर्वे  रिपोर्ट आएपछि डिजाइनअनुसार बजेट सुनिश्चित गरेर विस्तारको काम अघि बढ्ने छ । 

यस्तै समग्र विमानस्थल विस्तार सहजीकरणको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरपालिकाको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति भएको छ ।

गत माघ १८ गते बसेको मन्त्रिपरिषद बैठकलेसैनिक संरचना हटाएर भरतपुर विमानस्थल विस्तार गर्ने निर्णय गरेको थियो । संरचना सार्दा हुने खर्च नागरिक उड्डयन प्राधिकरणले ब्यहोर्ने छ।

विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन् केन्द्र लगायत संरचना छन् । ५८ बिघा क्षेत्रफलमा विमानस्थल विस्तारका लागि १९ बिघा जमिन आवश्यक पर्छ । अहिले १२ सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर–पश्चिमतर्फ ४१२ मिटर विस्तार गर्ने योजना छ । यसअनुसार विमानस्थलको धावनमार्ग कम्तीमा १५ सय मिटरको बनाउनु पर्नेछ।

विमानस्थल विस्तार हुँदा ठूला जहाजसमेत चल्ने गरी विमानस्थल विस्तार हुनेछ । यसको धावनमार्गको लम्बाई कम भएकाले ठूला जहाज उडान–अवतरण गर्न सक्दैनन् । विमानस्थल विस्तार भए अहिले रोकिएका धेरै सेवा जस्तै रात्रिकालिन उडान, ठुलो क्षमताको जहाज, धेरै वटा फ्लाईट, जहाजको फ्युल पम्प निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस