भरतपुर विमानस्थलमा हवाई इन्धन आपूर्ति सुरु गर्ने तयारी

सफल खबर संवाददाता

शुक्रबार, ०१ फागुन २०८२, १४ : ०१
भरतपुर विमानस्थलमा हवाई इन्धन आपूर्ति सुरु गर्ने तयारी

भरतपुर। भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा उडान गर्ने विमानलाई आगामी सातादेखि स्थानीय रूपमा इन्धन उपलब्ध गराउने तयारी अघि बढाइएको छ। नेपाल आयल निगम ले फागुन ६ गतेदेखि रिफिलिङ सेवा सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक पूर्वाधार व्यवस्थापन गरिरहेको जनाएको छ।

निगमका प्रवक्ता तथा उपनिर्देशक मनोजकुमार ठाकुरका अनुसार यस प्रयोजनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण सँग सम्झौता भइसकेको छ। प्रारम्भिक चरणमा दुईवटा रिफ्युलर र एउटा मोबाइल डिस्पेन्सरमार्फत सेवा सुरु गरिनेछ। स्थायी रूपमा भूमिगत वा जमिनमाथि ट्यांकी स्थापना गरी दीर्घकालीन संरचना निर्माण गर्न भने छ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने जनाइएको छ।

निगमले भरतपुरमा ३० किलोलिटर क्षमताको इन्धन भण्डारण तथा व्यवस्थापन प्रणाली स्थापना गर्न करिब चारदेखि पाँच करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार आवश्यक जग्गा उपलब्ध गराउने सहमति भइसकेको छ र बाँकी प्राविधिक तथा व्यवस्थापकीय काम निगमले अघि बढाउनेछ। इन्धन आपूर्ति सुविधा उपलब्ध भएपछि उक्त क्षेत्रबाट सञ्चालन हुने उडानलाई सहजता पुग्ने अपेक्षा गरिएको छ।

हाल बुद्ध एयरले भरतपुरबाट काठमाडौँ र पोखरा गन्तव्यमा दैनिक सात उडान सञ्चालन गर्दै आएको छ। भरतपुरस्थित कम्पनीका स्टेशन प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार दुईवटा ४७ सिटे र पाँचवटा ७२ सिटे विमान नियमित रूपमा उडानमा छन्।

उनले भरतपुरमै इन्धन भर्ने सुविधा उपलब्ध भएपछि काठमाडौँबाट आउने विमानमा थप दुई यात्रु समेट्न सकिने बताए। हाल ७२ सिटे विमानले काठमाडौँबाट आउँदा ७० यात्रु बोकेर आउने गरेको छ भने गर्मीयाममा तौलसम्बन्धी सीमाका कारण ६० यात्रु मात्र ल्याउनुपर्ने अवस्था छ। भरतपुरबाट प्रस्थान गर्दा भने हाल ५५ यात्रु र गर्मीयाममा करिब ४० यात्रु मात्र बोक्ने गरिएको छ।

४७ सिटे विमानको हकमा काठमाडौँबाट आउँदा हाल ४५ र फर्कँदा ४३ यात्रु बोक्ने गरिएको छ। गर्मीयाममा भने काठमाडौँबाट करिब ३५ र भरतपुरबाट करिब ३३ यात्रु बोक्ने सीमितता रहेको जनाइएको छ। नयाँ इन्धन व्यवस्थाले तौल व्यवस्थापनमा सहजता ल्याई यात्रु क्षमता वृद्धि गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस