वाणिज्य बैंकहरूले ब्याजदर समायोजन गर्‍याे

सफल खबर संवाददाता

मंगलबार, ०१ फागुन २०८०, १२ : २६
वाणिज्य बैंकहरूले ब्याजदर समायोजन गर्‍याे

काठमाडौं । फागुन महिनाको लागि वाणिज्य बैंकहरूले ब्याजदर थप घटाएका छन् । लगानीयोग्य रकम बढ्दै गएको अवस्थामा प्रत्येक महिना बैंकहरूले ब्याजदर घटाउन थालेका छन् ।बैंकमा निक्षेप बढ्ने तर कर्जा अपेक्षित रूपमा बढ्न नसकेपछि लगानीयोग्य पुँजी बढ्दै गएपछि बैंकहरुले ब्याजदर समायोजन गरेका हुन् ।  

हाल बैंकहरूमा अझै ५ खर्ब हाराहारी अधिक तरलता छ । फागुन महिनाका लागि पनि अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाएको सूचना सार्वजनिक गरेका हुन । माघ महिनामा बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम नौं  प्रतिशत ब्याजदर दिएका थिए । फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५ प्रतिशत कायम भएको छ ।माघको तुलनामा फागुनमा औसत ब्याजदर ०.४ प्रतिशत बिन्दुले घटेको देखिएको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा बैंकहरूले ०.०६ प्रतिशतदेखि न्यूनतम ०.८१ प्रतिशतसम्म ब्याजदर घटाएको बैंकहरुको विवरणले देखाएको छ ।

फागुनको लागि लक्ष्मी सनराइज, माछापुच्छ्रे, हिमालयन र एभरेष्ट बैंकले  माघ कै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् । फागुनमा कृषि विकास बैंकले सबैभन्दा कम व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.४४ प्रतिशत ब्याजदर दिने भएको छ । केही बैंकलाई पुँजी कोषको कारणब्याजदर माघ र फागुनको लागि यथावत राखेका छन ।