उपकरणको व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीले गुनासो गर्न थाले : मन्त्री जोशी

सफल खबर संवाददाता

विहीबार, १८ माघ २०८०, १४ : २५
उपकरणको व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीले गुनासो गर्न थाले : मन्त्री जोशी

काठमाडौँ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्य उपकरणको अभाव पूर्ति र व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीले उपचार गर्न नपाएको गुनासो बढ्दो क्रममा रहेको बताएका छन् । हेटौँडामा प्रदेश बायो मेडिकल वर्कसपको उद्घाटन गर्दै मन्त्री जोशीले अस्पताल तथा स्वास्थ्य संस्थाहरूको उपकरणहरू चुस्त दुरुस्त राख्न र व्यवस्थापन गरेर सेवा प्रवाहलाई स्तरीय बनाउनुपर्ने बताए ।

स्वास्थ्य सेवा प्रवाहका लागि उपकरणको गुणस्तर गर्नुपर्ने मन्त्री जोशीले बताए । सरकारले नागरिकहरूको सहज स्वास्थ्य सेवा प्रवाहका लागि अस्पताल तथा स्वास्थ्य संस्थाहरू स्तरोन्नति कार्य गरिरहेको उनको भनाई छ । सरकारी अस्पतालको उपकरण छिटो बिग्रनुको कारणबारे जानकारी राख्नुपर्छ भनेर वर्कसप स्थापना गरिएको मन्त्री जोशीको भनाई छ । प्रदेशका धेरै स्वास्थ्य संस्थामा उपकरण बिग्रेको र प्रयोगमा नअएको अवस्था रहेकाले त्यसको व्यवस्थापनमा मन्त्रालयले काम गरिरहेको उनले बताए ।

‘स्वास्थ्य संस्था तथा अस्पतालहरूमा उपकरण अभाव र व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीको गुनासो बढ्दो छ । अस्पतालहरूका उपकरणहरू बारम्बार बिग्रिने समस्याका कारण सेवा प्रवाह नभएको नागरिकको गुनासो छ । यसतर्फ सबैले जिम्मेवार ढङ्गबाट काम गर्न जरुरी छ’ उनले भने, ‘स्वास्थ्य सेवा प्रवाहका लागि उपकरणको गुणस्तर कायम गर्न सबै निकायले गम्भीर भएर काम गर्नुपर्छ । अस्पताल र स्वास्थ्य संस्थाको स्तरोन्नतिको काम कागजमा मात्र भएको होइन । त्यसलाई कार्यान्वयन गर्न मन्त्रालयले काम गरिरहेको छ ।’

मन्त्री जोशीका अनुसार औजार उपकरणका बारेमा बुझ्न मन्त्रालयले २ वटा टिम खटाएर अध्ययन गरेको थियो । उक्त टिमले तयार पारेको प्रतिवेदनका आधारमा सो विषयमा स्वास्थ्य संस्था तथा अस्पतालका प्रमुखहरूसँग समीक्षा र छलफल भएको मन्त्री जोशीले बताए । उनले जनताको सेवा प्रवाहमा गुनासो नआउने गरी काम गर्न निर्देशन समेत दिए ।

स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र बागमती प्रदेशको करिब १ करोड रुपैयाँ लागतमा प्रदेश बायो मेडिकल वर्कसप स्थापना गरिएको हो । प्रदेशका अस्पताल तथा स्वास्थ्य संस्थाको बिग्रिएका स्वास्थ्य उपकरणहरूको मर्मत गर्न निक साइमन इन्स्टिच्युटको सहयोगमा वर्कसप स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस