किन यसो भन्छन् नेपाली विद्यार्थी बैङ्गलोर अध्यनबारे ? यस्तो रहेछ कारण !

सफल खबर संवाददाता

आइतबार, २४ भदौ २०७५, १० : ०१
किन यसो भन्छन् नेपाली विद्यार्थी बैङ्गलोर अध्यनबारे ? यस्तो रहेछ कारण !

बैङ्गलोरसम्बन्धी जुन हौवा अहिले नेपालमा फिँजाइएको छ र प्रचारबाजी गरिएको छ, बैङ्गलोरको स्थिति त्योभन्दा धेरै भिन्न र दयनिय छ । बैङ्गलोर सोचेजस्तो सुविधासम्पन्न छैन र यो कुनै मेडिकल सिटी पनि होइन ।

हावापानी र बसोबासका दृष्टिकोणले बैङ्गलोर राम्रो देखिए पनि नर्सिङ शिक्षाका लागि बैङ्गलोरलाई राम्रो मान्नसक्ने अवस्था छैन ।
नेपालमा दुई वर्ष प्राक्टिकल गर्दा त पोख्त हुन नसक्ने विद्यार्थीहरू बैङ्गलोरमा वार्षिक करिब २ महिना मात्रै प्राक्टिकल गरेर फर्कने अधिकांश नेपाली विद्यार्थीहरूको अवस्था के होला ? हामी सहजरूपमा अनुमान गर्न सक्छौँ ।

‘पहिल्यै सोच्नुहोस् कि मैले प्राक्टिकल सिक्नेवाला छैन’ : सन्ध्या ढकाल
बैङ्गलोरमै ४ वर्ष अध्ययन सकेर अहिले रजिस्ट्रेसन पाउनुपर्यो भन्दै लडाइँ गरिरहेकी गैरीगाउँ काठमाडौँकी सन्ध्या ढकाल भन्छिन्, ‘बैङ्गलोर पढ्न आउन खोजेको हो भने पहिल्यै सोच्नुहोस् कि मैले प्राक्टिकल सिक्नेवाला छैन ।’ किनभने बैङ्गलोरका ९० प्रतिशत नर्सिङ कलेजको अवस्था दयनीय नै छ । ८० प्रतिशत नर्सिङ कलेजको आफ्नो अस्पताल छैन भने अस्पताल भएका अधिकांश कलेजहरूमा पनि न पर्याप्त बिरामी हुन्छन्, न त पर्याप्त प्राक्टिकल नै । त्यसैले बैङ्गलोरमा पढे पनि प्राक्टिकल गर्ने चाहिँ नेपालमै गएर हो । त्यसैले सन्ध्या भन्छिन्, ‘बैङ्गलोर आएरपछि पश्चाताप गर्नुभन्दा पहिले नै विचार गरेर बैङ्गलोरमा पढ्न नआउनुस् ।’

जस्तो भए पनि नेपालमै पढ्नुस् : सुमिना अर्याल
बैङ्गलोरको मेजिस्टिक सिटीमा रहेको एउटा नर्सिङ इन्स्टिच्युटबाट भर्खरै ग्राजुएट भएकी अर्की विद्यार्थी सुमिनाको सुझाव पनि त्यही छ– बैङ्गलोरमा पढ्न नआउनुस् । ४ वर्षको उनको अनुभवले पनि होला, उनी बरु जति दुःख भए पनि नेपालमै पढ्न अनुरोध गर्छिन् । खान, बस्न, सुरक्षा र मुख्यत प्राक्टिकलकै कारण पनि उनी बहिनीहरूलाई नर्सिङका लागि बैङ्गलोर नआउन आग्रह गरिरहैकी छिन् । उनी भन्छिन्, ‘बरु दुई चार लाख बढी तिर्नुहोस्, तर बीएस्सी नर्सिङ चाहिँ नेपालमै पढ्नुहोस् ।’

बैङ्गलोर सोचेजस्तो छैन : मनिषा अधिकारी
बैङ्गलोरमै अध्ययन गरिरहेकी काठमाडौँकी मनिषा अधिकारीको सुझाव पनि बैङ्गलारमा नर्सिङका लागि नआउन सुझाव छ । समस्या झेल्न नसक्ने र उच्च महत्वाकाङ्क्षा राख्नेहरू बैङ्गलोरमा फ्रस्टेसनमा फस्ने भन्दै बैङ्गलोर काठमाडौँमा भनिएजस्तो नभएको उनी बताउँछिन् । काठमाडौंका कन्सल्टेन्सीहरूले एक लाख कमाउनका लागि हजार झुट बोल्ने गरेको भन्दै काठमाडौंमा जस्तो सोचिन्छ, बैङ्गलोर त्यसको एक चौथाई पनि नभएको उनको भनाइ छ । त्यसैले बैङ्गलोरमा नर्सिङ पढ्न नआउनुस् भन्छिन् उनी ।

रजिस्ट्रेसन हुँदैन, त्यही भएर नआउनुस् : दिप्ती भुसाल
बैङ्गलोरमै अध्ययन गरिरहेकी अर्की विद्यार्थी दिप्ती भुसाल पनि बैङ्गलोरमा आएर तनाव झेल्नुभन्दा नेपालमै मिहिनेत गरेर पढ्न सुझाव दिन्छिन् । ‘बरु एक वर्ष पढाइ लस नै होस्, तर मिहेनत गरेर नाम निकालेर नेपालमै पढ्नुहोस्’ दिप्तीको सुझाव छ । ‘अहिले भारतमा विदेशी विद्यार्थीहरूलाई प्यारेन्ट कन्ट्री रजिस्ट्रेसन बन्द गरिदिएको छ । जसका कारण अस्ट्रेलिया, क्यानडालगायतका देशमा जान पनि समस्या भइरहेको छ । त्यसैले बैङ्गलोरमा पढ्नुभन्दा बरु अरू नै विषय नेपालमै पढ्नुहोस् ।’

धेरै दुःख देखेँ, बैङ्गलोरमा नआउन सुझाव दिन्छु : अनिल महर्जन
बैङ्गलोरमा रहेका नेपाली विद्यार्थीहरूलाई परेको समस्याबारे बढी जानकार छन्, पूर्व विद्यार्थी अनिल महर्जन । उनी पनि पहिले बैङ्गलोरमै रहेर आईटी अध्ययन गरेका विद्यार्थी हुन् । नेपाली विद्यार्थीहरू समस्यामा परेपछि उनीहरू मिलेर नेप्लिज इन बैङ्गलोर भन्ने फेसबुक पेज नै बनाएर समस्या लिन थाले समाधानको पहल पनि गरे । तर बैङ्गलोरमा बीएस्सी नर्सिङ पढ्ने विद्यार्थीहरूले सबैभन्दा बढी समस्या झेल्नुपरेको अनिलको बुझाइ छ । उनी भन्छन्, ‘४ वर्ष पढेर बीएस्सी सक्यो, प्राक्टिकलका लागि भारतकै अस्पतालले लिनै मान्दैन । बैङ्गलोरको बीएस्सी भनेपछि नाक खुम्च्याउँछन् । प्राक्टिकल नै जान्दैनन् भनेर अस्पतालले लिनै मान्दैनन् । १० वटा अस्पताल चहार्दा पनि इन्टर्नसिप गराउन सकिएन ।’ अनिलका अनुसार पढाइमा मात्रै होइन खानेकुरा, बसोबास आदि विषयमा पनि उत्तिकै समस्या छ । ‘नेपालमा आनन्दले बसेका विद्यार्थीहरू त यहाँ मेन्टल ट्रमाको अवस्थामा पुग्छन् । त्यसैले दुःख गरेर भए प्नि नेपालमै पढ्न सुझाव दिन्छु ।’

स्थिति धेरै खस्किइसक्यो, बैङ्गलोरमा नआउनुस् : आकाश साउद
नेपालमा एसएलसी दिएपछि बैङ्गलोर आएर पढ्न सुरु गरेका कैलालीका आकाश साउद पनि बैङ्गलोर अब पहिलेजस्तो नभएको गुनासो गर्छन् । पहिले बैङ्गलोरको शैक्षिक गुणस्तर राम्रो भए पनि अहिले त्यो खस्कँदै गएको उनको ठम्याइ छ । उनी भन्छन्, ‘पहिलेको बैङ्गलोर र अहिलेको बैङ्गलोरमा धेरै परिवर्तन आइसक्यो । सामाजिक सुरक्षादेखि लिएर हरेक कुरामा अहिले समस्या थपिएको छ । स्थिति ज्यादै कमजोर बनेको छ, त्यसैले बैङ्गलोर नआउनै सुझाव दिन्छु ।’

कसैलाई पनि बैङ्गलोर नआउन भन्छु : पङ्कज उप्रेती
बैङ्गलोरमै बीसीए अध्ययन गरिरहेका झापाका पङ्कज उप्रेती पनि आफ्ना भाइ बैनीलाई बैङ्गलोरमा आउन नदिने प्रण गर्छन् । आफूले कलेजमा धेरै समस्या झेलेको र सामाजिक सुरक्षा पनि कमजोर भएकाले आफ्ना भाइ बैनीलाई बैङ्गलोरमा नल्याउने उनको प्रण छ । उनी भन्छन्, ‘भाइ बैनीलाई बैङ्गलोरमा ल्याएर त्यसै छाड्न सकिन्न । त्यसैले उनीहरूलाई नेपालमै पढ्न आग्रह गर्छु ।’

कलेजको काइदा कानुनले हैरान बनायो : पवन दाहाल
मोरङका पवन दाहाल बैङ्गलोरमा मेडिकल इम्याजिङ टेक्नोलोजी अध्ययन गर्दै छन् । उनले काठमाडौँमा बुझ्दा र वेभसाइटमा हेर्दा कलेजको ठूला ठूला विल्डिङ थिए तर बैङ्गलोरमा आउँदा त्यस्तो कुनै विल्डिङ देख्न पाएनन् । ३ वर्ष पढेपछि बल्ल कलेजको आफ्नो विल्डिङ बन्दै छ ।

पवनका अनुसार बैङ्गलोरको सबैभन्दा ठूलो समस्या भनेको कलेजको काइदा कानुन हो । कलेज प्रशासनले छिनछिनमा आफ्नै काइदा कानुन निर्माण गर्छ । यसले गर्दा नेपाली विद्यार्थीहरूले यो वा त्यो बाहानामा थप शुल्क तिर्नुपर्छ । ‘विद्यार्थीले कुनै एउटा सानो गल्ती गर्यो कि कलेजले ठाउँका ठाउँ काइदा कानुन बनाउँछ । अनि फाइन लगाउँछ र पैसामा रूपान्तरण गर्छ । बिरामी भएर कलेज जान सकिएन वा बिदा भएका कारण घर गएर बैङ्गलोर फर्कदा एक दिन ढिला भयो भने पनि ५ हजार देखि २५ हजारसम्म फाइन लगाइदिन्छ । कलेजले बनाउने काइदा कानुन अर्को ठूलो समस्या छ यहाँ ।’

बैङ्गलोर राम्रो छ भनेर नेपालमा जुन हौवा फिँजाइएको छ, त्यो केवल भ्रम मात्रै भएको यी तथ्य र विद्यार्थीका बैङ्गलोर नआउन दिएका सुझावले प्रष्ट पार्छ । तर पनि नेपाली अभिभावकहरूले बैङ्गलोरमा बीएस्सी नर्सिङ पढाउन आफ्ना छोरीहरूलाई हतारहतार भर्ना गराइरहेका छन् । बैङ्गलोरको पढाइ कस्तो हो भन्ने ती अभिभावकहरूलाई थाहा नै हुँदैन र छैन ।

 

प्रतिक्रिया दिनुहोस