जर्मन नेतासँग राष्ट्रपतिले भने– हाम्रो संविधान समाजवादनजिक, जवाफ आयो– प्रगतिशील लाग्यो

सफल खबर संवाददाता

बुधबार, १७ माघ २०८०, १६ : ४४
जर्मन नेतासँग राष्ट्रपतिले भने– हाम्रो संविधान समाजवादनजिक, जवाफ आयो– प्रगतिशील लाग्यो

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलसँग जर्मनीको एक पार्टीका नेताले भेटवार्ता गरेका छन् । सोसल डेमोक्रयाटिक पार्टी अफ जर्मनी (एसपीडी)का पूर्वअध्यक्ष तथा तथा फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफईएस)का अध्यक्ष डा मार्टिन शुल्जले बुधवार भेटवार्ता गरेका हुन् । 

राष्ट्रपति भवन शीतलनिवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपाल सामाजिक न्यायसहितको लोकतन्त्रलाई सुदृढ गर्न लागिरहेको र यसैको माध्यमबाट लोकतान्त्रिक समाजवादतर्फ अघि बढ्ने प्रयत्न भइरहेको बताए । नयाँं–नयाँं प्रविधिको वर्तमान युगमा कसरी लोकतान्त्रिक समाजवादमार्फत नेपालजस्तो मुलुकमा जनताको जीवनस्तर माथि उठाउन सकिन्छ भन्ने सम्बन्धमा एफईएसजस्तो संस्थाले वैचारिक बहस चलाउनुपर्ने पनि उनले धारणा राखे ।

 

राष्ट्रपति पौडेलले नेपालीहरूले लामो संघर्ष र बलिदानपछि आफ्नो संविधान आफैँ बनाएको र उक्त संविधानले समाजवादनजिक पुर्याएको बताएको उनको सचिवालयले जनाएको छ । ‘त्यसैमार्फत लोकतन्त्रलाई अझ सुधार गरेर जनताको हितमा कसरी लगाउने भन्नेमा प्रयत्नशील छौँ,’ उनले भने ।

राष्ट्रपति पौडेलले नेपाल र एफईएसबीच लोकतान्त्रिक समाजवादका बारेमा गहिरो छलफल र विमर्श आवश्यक रहेको बताउँंदै यसमा आपसी सहयोगको खाँचो औँल्याएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

सो अवसरमा जर्मन नेता शुल्जले नेपालको संविधान अत्यन्त प्रगतिशील र उदाहरणीय रहेको उल्लेख गर्दैै नेपालमा लोकतन्त्र सुदृढीकरणको साक्षी बन्न एफईएस नेपालमा स्थापना भएको हुनाले यसका लागि हरतरहका सहयोग विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस