राष्ट्र बैंकले गर्‍यो छ वित्तीय संस्थालाई कारबाही

सफल खबर संवाददाता

सोमबार, १५ माघ २०८०, १२ : २१
राष्ट्र बैंकले गर्‍यो छ वित्तीय संस्थालाई कारबाही

काठमाडौँ । नेपाल राष्ट्र बैंकले छ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नियमविपरीत काम गर्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको हो ।

यसरी कारबाहीमा पर्नेमा वाणिज्य बैंकहरूमा ग्लोबल आईएमई बैंक, प्रभु बैंक र हिमालयन बैंक, विकास बैंकहरूमा मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक र वित्त कम्पनीहरूमा रिलायन्स फाइनान्स छ ।

राष्ट्र बैंकले ग्लोबल आईएमई बैंकलाई प्रिमियम बढाएर बढी ब्याज असुल गरेको, राष्ट्र बैंकको निर्देशनबमोजिम प्रिमियम फिर्ता नगरेको, कर्जा दुरुपयोग भएको, खराब कर्जा पनि पुनर्संरचना तथा पुनर्तालिकीकरण गरेकोलगायत आरोपमा प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिएको र सञ्चालकहरूलाई सचेत गराएको छ ।

प्रभु बैंकले पनि प्रिमियम बढाएर बढी ब्याज असुलेको, नियममा तोकिएको भन्दा कर्जाको कम जोखिमभार गणना गरी गलत रिपोर्टिङ गरेकोलगायत कसुरमा राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिएको छ भने सञ्चालक समितिलाई सचेत गराएको छ ।

प्रिमियम बढाएर बढी ब्याज असुलेको, नियममा तोकिएभन्दा कर्जाको कम जोखिमभार गणना गरी गलत रिपोर्टिङ गरेकोलगायत कसुरमा राष्ट्र बैंकले हिमालयन बैंकलाई पनि कारबाही गरेको छ । यसअनुसार उक्त बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिएको छ भने सञ्चालक समितिलाई सचेत गराएको छ ।

निर्देशन विपरीत काम गरेको भन्दै राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकलाई १० लाख नगद जरिवाना गरेको छ । गरिमा विकास बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ । रिलायन्स फाइनान्सका सञ्चालक कुशप्रसाद मल्ली तथा अन्य व्यक्तिको संयुक्त खाता र तिनको व्यक्तिगत खातामा व्यावसायिक कारोबार भएको, खाताको सीडीडी नियमित अद्यावधिकसमेत नभएकाले संस्थाको संस्थागत र सञ्चालकको आचरण कार्यान्वयनको अवस्थासमेत कमजोर देखिएको भन्दै राष्ट्र बैंकले कारबाही गरेको छ । यसअनुसार सञ्चालक मल्ली र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

 

प्रतिक्रिया दिनुहोस