‘राम नाम सत्य’बाट निर्देशनमा डेब्यु गर्दै माइकल

सफल खबर संवाददाता

शुक्रबार, १२ माघ २०८०, ११ : ५४
‘राम नाम सत्य’बाट निर्देशनमा डेब्यु गर्दै माइकल

काठमाडौं । म्यूजिक भिडियोपछि अब माइकल चन्दले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनको निर्देशनमा फिल्म ‘राम नाम सत्य’ बन्न लागेको हो । श्री स्वस्थानी व्रतकथा प्रारम्भको अवसर पारेर बिहीबार थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको फिल्मको निर्मातामा प्रकाश शाह, उपेन्द्र शाही र राज कटुवाल छन् । फिल्मका लागि कलाकार छनोटको प्रक्रिया भइरहेको चन्दले बताए ।

सार्वजनिक थिम पोस्टरमा एउटा ठूलो घन्टी र बञ्चरोलाई देखाइएको छ भने आकृतिमा एक पुरुष दौडिरहेको देखिन्छ । पृष्ठभूमिमा मन्दिरलाई पनि चित्रित गरिएको छ । डार्क शैलीको पोस्टरले फिल्म बदलाको कथामा बन्ने संकेत गर्छ । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा बन्न लागेको फिल्मको कथा पनि चन्द स्वयंको हो । फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहनेछ ।

यतिबेला फिल्मको कथा लेखन र संगीतको काम भइरहेको निर्देशक चन्दले जानकारी गराए । उनले भने, ‘फिल्म निर्देशन गरेर यो क्षेत्रलाई केही योगदान गरौं भन्ने सोच मेरो पहिलेदेखि नै थियो । यसैले अहिलेको समसामयिक विषयवस्तुमा केही फरक कथा भन्न लागेको हुँ ।’ दर्जनौं म्यूजिक भिडियोको निर्देशन गरिसकेका चन्द आउँदो बैशाखपछि फिल्मको छायांकन सुरु गर्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस