स्वास्थ्य बिमा गरेका नागरिक दोस्रो दर्जाका होइनन् : मन्त्री जोशी

सफल खबर संवाददाता

बुधबार, १० माघ २०८०, १२ : ५२
स्वास्थ्य बिमा गरेका नागरिक दोस्रो दर्जाका होइनन् : मन्त्री जोशी

हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य बिमा गरेको नागरिक दोस्रो दर्जाको नागरिकको रूपमा हेर्न नहुने बताएका छन् । बुधवार हेटौँडामा आयोजित स्वास्थ्य बिमा बोर्ड बागमतीको प्रदेश स्तरीय समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री जोशीले बिमा गरेका नागरिकहरूले तत्काल उपचार सेवा पाउने व्यवस्था गर्नुपर्ने बताए ।

अहिले बिमालाई सफल बनाउने नियतले काम नभएको भन्दै उनले सबै पक्षको सकारात्मक पहलबाट सुधार गर्नुपर्ने बताए । बिमाले आम नागरिकको स्वास्थ्य उपचार सेवालाई सहज बनाउनुपर्नेमा हाल बिरामीलाई थप सास्ती भइरहेको उनले बताए । स्वास्थ्य बिमालाई सफल बनाउने नियतले सेवा प्रवाहमा सहजता प्रदान गर्ने गरी काम गर्न उनले निर्देशन दिए ।

‘बिमा गरेका नागरिकलाई दोस्रो दर्जाको नागरिकको जस्तो व्यवहार गरिन्छ । उनीहरू दोस्रो दर्जाका नागरिक होइनन् । बिमा गरेका नागरिकले सबैभन्दा पहिले र सहज सेवा पाउनुपर्ने होइन र ? हाम्रो अस्पताल र कर्मचारी तथा सिस्टमले किन सेवा सहज बनाउन सकेन ?’ उनले भने, ‘बिमा गरेका नागरिकहरूले स्वास्थ्य उपचारका सबै सेवा अस्पतालको बेडमा नै पाउने गरी व्यवस्था गर्नुपर्छ । बिमा गरेका नागरिकहरूलाई यता उता भन्दै कुराउने र हिँडाउने काम उचित हुँदैन । बिमा गरेका नागरिकले २४ घण्टा सेवा किन नपाउने ? राज्यलाई अग्रिम पैसा तिरेर नागरिकले सेवा खरिद गरेका हुन् । उनीहरूलाई पनि त्यही अनुसारले सेवा दिनुपर्छ । नगद आउँछ भनेर बिमा गरेका नागरिकलाई पछि राख्ने र कुराउने प्रवृत्ति गलत छ ।’

अस्पतालले बिमाका बिरामीलाई पहिलो प्राथमिकतामा सेवा प्रवाह गर्नुपर्ने उनको भनाई छ । स्वास्थ्य बिमा बोर्डले आवश्यक विषयहरूमा सुधार गरेर बिमा गरेका नागरिकहरूले तत्काल सबै प्रकारका सेवा पाउने व्यवस्था गर्नुपर्ने उनले बताए ।

बिमाको प्रथम सेवा विन्दु नगर अस्पताल बनाएर अघि बढ्दा कार्यक्रम थप प्रभावकारी हुने भएकाले त्यसतर्फ प्रदेश सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । मन्त्री जोशीले बिमामा प्राप्त हुने औषधीको गुणस्तर कायम गर्ने र सहज रूपमा औषधी पाउने व्यवस्था गर्नुपर्ने बताए । बिमासहित नागरिकहरूको स्वास्थ्य सेवामा सन्तुलन कायम गरी नागरिकलाई सन्तुष्ट पार्ने गरी काम गर्न उनले निर्देशन दिए ।

‘बिमामा भएका समस्या हल गर्न नीतिगत सुधार गरेर प्रभावकारी रूपमा कार्यक्रम अघि बढाउनुपर्छ । राज्यको तल्लो तहका स्वास्थ्य संस्थाबाट समेत सेवा पाउने व्यवस्था गर्नुपर्छ । तिनै तहका स्वास्थ्यका संरचना र स्वास्थ्य चौकीहरूसँग जोडिएर काम गर्दा उपयुक्त हुन्छ । बिमालाई नागरिकहरूसँग जोड्ने काममा सहजता प्रदान गर्न स्वास्थ्य कार्यालयसँग मिलेर काम गर्नु उपयुक्त देखिन्छ’ उनले भने ।