जनतालाई सुविधा दिने र राजस्व बढाउने सरकारको लक्ष्य : अर्थमन्त्री महत

सफल खबर संवाददाता

सोमबार, ०८ माघ २०८०, १४ : ४६
जनतालाई सुविधा दिने र राजस्व बढाउने सरकारको लक्ष्य : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरैभन्दा धेरै सुविधा दिने र राजस्व बढाउने सरकारको लक्ष्य भएको बताएका छन् ।

सोमबार बारा सुवर्ण गाउँपालिका सन्तगञ्जस्थित सिम्रौनगढ छोटी भन्सार नाका अवलोकन तथा निरीक्षण क्रममा अर्थमन्त्री महतले स्थानीयको आवश्यकता पूर्ति गर्ने हिसाबमा यो नाकालाई बिस्तारै अगाडि बढाउने बताएका हुन् ।

आवश्यक पूर्वाधार तयार पारेर सिम्रौनगढ छोटी भन्सारलाई अझै व्यवस्थित गरिने उनले बताए । नेपाल–भारत सीमा व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

‘दैनिक जीवनमा किनबेच–आवतजावत सहज होस् भनेर सरकार लागेको छ । यसका लागि भारतीय पक्षसँग पनि कुरा गर्नुपर्ने हुन्छ,’ अर्थमन्त्री महतले भने, ‘दोहोरो भयो भने यसले आकार र स्वरूप लिन्छ, अनि विस्तार हुन्छ ।’

खाद्यान्न र उद्योग व्यवसायका लागि बारा जिल्ला महत्त्वपूर्ण रहेको महतले बताए ।

प्रतिक्रिया दिनुहोस