त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी परिचालन

सफल खबर संवाददाता

शनिबार, ०६ माघ २०८०, १४ : ४१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी परिचालन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी सुरक्षा बेस स्थापना गरिएको छ ।  सशस्त्र प्रहरी बल, नेपालले आफ्नो २३ औँ स्थापना दिवसको अवसर पारेर शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गरी एक हप्ताअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि सो बेस स्थापना गरिएको जानकारी गराएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी बढिरहेका बेला सशस्त्र प्रहरी बलको पनि सुरक्षा बेस स्थापना गरिएको छ । सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३० जनाको टोली परिचालन हुने गरी सो बेस स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता राजेन्द्र खड्काले बताए ।

खड्का भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि गत हप्ताबाट मात्रै सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा एउटा सुरक्षा बेस ३० जनाको टोली रहने गरी त्यो स्थापना गरिएको छ । एयरपोर्टमा समेत सशस्त्र प्रहरी बल परिचालन गरिएको अवस्था हो ।’

त्यसैगरी विपद्जन्य घटनामा तत्काल परिचालन हुने गरी हरेक प्रदेशमा रहने गरी ८ वटा विपद् व्यवस्थापन बेस पनि स्थापना गरिएको उनले बताए । विपद् व्यवस्थापनको काममा तत्काल परिचालन गर्नका लागि ती बेस स्थापना गरिएको पनि प्रवक्ता खड्काले बताए ।

‘विपद्जन्य घटनामा तुरुन्तै सशस्त्र प्रहरी बल परिचालन होस् भन्ने हेतुले अहिले हरेक प्रदेशमा रहने गरी ८ वटा विपद् व्यवस्थापन बेस व्यवस्था गरेका छौँ’ उनले भने, ‘त्यहाँ विपद् व्यवस्थापनका लागि आवश्यक सामग्रीसहित मान्छेहरू, हाम्रा कर्मचारुहरु ट्वान्टी फोर आवर तयारी अवस्थामा हुन्छन् । र उनीहरुले गएर तुरुन्तै त्यस्ता कामहरूको तत्काल व्यवस्थापन गर्ने गर्दछन् ।’

बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बेलले प्रतिआतंकवाद उपशाखा स्थापना गरी काम शुरु गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग रोक्न सो सम्बन्धी डेस्क नै स्थापना गरेर काम भइरहेको पनि बलका प्रवक्ता खडकाले बताए ।

उनले भने, ‘बदलिँदो सुरक्षा चुनौतीको आङ्कलन गरेर प्रतिआतंकवाद उपशाखा स्थापना गरी कार्य सञ्चालन गरिएको छ । त्यसै गरेर सोसियल मिडिया मोनिटरिङ डेस्कको स्थापना गरी सामाजिक सञ्जालको दुरुपयोगलाई निरुत्साहित गरिएको छ । साथै साइबर डेक्स समेत स्थापना गरिएको छ । त्यसले कतिपय अवाञ्छित क्रियाकलापहरूलाई रोकथाम गर्ने र त्यसलाई कारबाहीको समेत दायरामा ल्याउने गरेर ५०/६० जना मान्छे त कारबाहीमा पनि परिसकेका छन् ।’

सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन र सीमा सुरक्षाका लागि विशिष्ट कृत जनशक्ति तयार पार्नका लागि काठमाडौँको माता तीर्थमा पोस्ट ग्राजुयट डिप्लोमा इन सेक्युरिटी एन्ड डिसएष्टर म्यानेजमेन्ट स्टडिज प्रोग्राम नै सञ्चालनमा ल्याएको छ ।

सशस्त्र प्रहरी बलका अधिकृतहरूको बढुवाका लागि सो कोर्सलाई अनिवार्य उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था समेत गरिएको पनि बलका प्रवक्ता खड्काले बताए । त्यसैगरी सशस्त्र प्रहरी बलले वातावरणमैत्री कार्यक्रम अन्तर्गत आन्तरिक रूपमा प्लास्टिकका सामग्रीहरूको प्रयोगमा सकेसम्म रोक लगाउने नीति पनि लिएको छ ।

प्रवक्ता खड्काले भने, ‘यो विपद् व्यवस्थापनको क्षेत्रमा अनुसन्धान बढाएर अलि स्पेस्लाइज्ड म्यानपावर तयार गर्नका लागि विशेष सीमा र विपद्लाई फोकस गरेर पोस्ट ग्राजुयट डिप्लोमा इन सेक्युरिटी एन्ड डिसएष्टर म्यानेजमेन्ट स्टडिज सञ्चालन गरिएको हो । जसलाई बढुवा हुनका लागि अनिवार्य तालिमको रूपमा राखिएको छ । त्यो माता तीर्थमा शुरु भइसकेको छ ।

त्यसलाई हामीले इन्स्पेक्टरबाट डिएसपी हुनका लागि अनिवार्य तालिमको रूपमा विकास गरेका छौँ । यसले गर्दा सीमा क्षेत्रमा खटिने र विपदमा खटिने व्यक्तिहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञानको दायरा अझ फराकिलो हुन्छ भन्ने सङ्गठनले अपेक्षा लिएको छ ।’

सबै प्रदेशमा सशस्त्र प्रहरी बल नेपाल फिल्ड अस्पतालको व्यवस्था गरिएको पनि पत्रकार सम्मेलन जानकारी दिइएको छ । प्रवक्ता खड्काले फिल्डमा खटिएका सशस्त्र प्रहरीहरूलाई सोही ठाउँमा उपचारको व्यवस्था हुने गरी ती अस्पतालहरू पनि सञ्चालनमा ल्याउनुपरेको बताए ।