पाकिस्तान र इरानको हवाई सीमा विवादः २ जनाको मृत्यु, ३ घाइते

सफल खबर संवाददाता

बुधबार, ०३ माघ २०८०, १६ : २७
पाकिस्तान र इरानको हवाई सीमा विवादः २ जनाको मृत्यु, ३ घाइते

काठमाडौं। इस्लामाबाद– इरान र  पाकिस्तानबीचको हवाई क्षेत्र उल्लङ्घनको विवादका कारण पाकिस्तानमा दुई बालबालिकाको मृत्यु हुनुका साथै तीन बालिका घाइते भएको पाकिस्तानी विदेश मन्त्रालयले बुधवार जनाएको छ ।

पाकिस्तानले इरानद्वारा आफ्नो हवाई क्षेत्रको उल्लङ्घनको कडा निन्दा गरेको मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ । मन्त्रालयले देशको सार्वभौमिकताको यो उल्लङ्घन पूर्ण रूपमा अस्वीकार्य रहेको ठहर गर्दै यसको गम्भीर परिणाम हुन सक्ने चेतावनी दिएको छ ।पाकिस्तानको कडा विरोध तेहरानमा इरानी विदेश मन्त्रालयका सम्बन्धित वरिष्ठ अधिकारीसमक्ष दर्ता भइसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पाकिस्तान र इरानबीच सञ्चारका धेरै माध्यमहरू अस्तित्वमा भएपनि यो अवैध कार्य चिन्ताको विषय भएकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

 

 

पाकिस्तानका लागि इरानी कार्यबाहक राजदूतलाई पाकिस्तानी विदेश मन्त्रालयमा बोलाई पाकिस्तानको सार्वभौमिकतामाथिको उल्लङ्घनका लागि कडा निन्दा गरिएको र यसबाट उत्पन्न परिणामको लागि इरान पूर्ण रूपमा जिम्मेवार हुने विज्ञप्तिमा जनाइएको छ । 

पाकिस्तानले सधैं आतङ्कवाद यस क्षेत्रका सबै देशहरूका लागि साझा खतरा भएको भन्दै यसलाई क्षेत्रीय सहकार्यमार्फत् सम्वोधन गर्न आवश्यक रहेको जनाएको छ ।  यस्ता एकपक्षीय कार्यहरू असल छिमेकी सम्बन्ध अनुकुल नभएको र यसले द्विपक्षीय  विश्वासलाई गम्भीर रूपमा कमजोर पार्न सक्ने पाकिस्तानले बताएको छ ।

प्रतिक्रिया दिनुहोस