आयल निगमको कार्यकारी निर्देशकमा १४ जनाको आवेदन

सफल खबर संवाददाता

मंगलबार, ०२ माघ २०८०, १० : ००
आयल निगमको कार्यकारी निर्देशकमा १४ जनाको आवेदन

काठमाडौँ । नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि १४ जनाले आवेदन दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाका लागि योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट आवेदन माग गरेकोमा १४ जनाले आवेदन बुझाएका छन् । 

मन्त्रालयका अनुसार आवेदन दिनेमा महोत्तरीका कमलेन्द्रलाल कर्ण, काठमाडौँका उत्तरकुमार रेग्मी, दिलीप शेखर श्रेष्ठ, चितवनका डोलप्रसाद चापागाईं, काठमाडौँका सहदेव चन्द, पंकजकुमार दास, धनुषाका रामदेव यादव, सप्तरीका सञ्जीवकुमार देव, मोरङका माधव रेग्मी र आमोदप्रसाद चौधरी, गोरखाका चण्डिकाप्रसाद, दाङका वसन्तकुमार पाण्डे, बागलुङका डोलिन्द्रप्रसाद शर्मा र ललितपुरका शत्रुधनप्रसाद पुडासैनी रहेका छन् ।

०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि नियुक्त भएका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत मङ्सिर २६ मा राजीनामा दिएपछि निगमको कार्यकारी निर्देशक पद रिक्त छ ।

थानीले कार्यकाल सकिन १५ महिना बाँकी हुँदै राजीनामा दिएका हुन् । मन्त्रालयले गएको पुस ७ मा २१ दिनभित्र आवेदन दिन भनेको थियो । गत आइतबारसम्म १४ जनाको आवेदन परेको मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए । 

आवेदन दिएका उम्मेदवारबाट व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण, अन्तर्वार्ता हुन्छ । सोही विधिबाट ३ जना छनोट गरी मन्त्रिपरिषद्मा पेस हुन्छ । तीमध्ये मन्त्रिपरिषद्ले एक जनालाई कार्यकारी निर्देशक नियुक्त गर्ने प्रावधान हुने मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस