टीकापुर सामाजिक सद्‌भाव र एकताको थलो हो : उपप्रधानमन्त्री खड्का

सफल खबर संवाददाता

शुक्रबार, २७ पुस २०८०, १६ : ०२
टीकापुर सामाजिक सद्‌भाव र एकताको थलो हो : उपप्रधानमन्त्री खड्का

काठमाडौं। उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले टीकापुर सामाजिक सद्‌भाव र एकताको थलो भएको बताएका छन् ।​सुदूरपश्‍चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव उद्‌घाटन गर्दै उनले २०७२ सालको घटनापछि केही समय अशान्त रहन पुगेको टीकापुर अहिले पूर्ववत् शान्त अवस्थामा फर्कन थालेको उल्लेख गरे ।

 

‘यस क्षेत्रमा विभिन्न जातजाति र समुदायबीच सदियौँदेखि कायम रहिआएको समाजिक एकता, पारस्परिक सद्‌भाव र सहिष्णुतालाई हामीले कदापि खल्बलिन दिनुहुँदैन । यसतर्फ म यहाँका सबै राजनीतिकर्मी, बुद्धिजीवी र सर्वसाधारणको ध्यान आकृष्ट गर्न चाहन्छु’, उनले भने ।

सोही अवसरमा उपप्रधानमन्त्री खड्काले सुदूरपश्‍चिम प्रदेशलाई पर्यटन तथा कृषिको विकासमार्फत  समृद्धि बनाउन सकिने बताए । उनले दुईतिर छिमेकी मुलुकसँग सिमाना जोडिएको यो प्रदेशमा पर्यटन प्रवर्द्धन, औद्योगिक वस्तुको उत्पादन र निकासी, कृषि र पशुपालन क्षेत्रको विस्तार, जडीबुटी उत्पादन र प्रशोधन तथा शैक्षिक विकासलाई प्रवर्द्धन गरी यस क्षेत्रलाई मुलुककै एउटा आर्थिक हबको रूपमा विकास गर्ने प्रशस्त सम्भावना रहेको धारणा राखे ।

‘यो नेपालको ठूलो सम्भाव्यता बोकेको क्षेत्र हो। खप्तड र रामारोशन जस्ता मनोरम पर्यटकीय स्थलदेखि तराईका सुन्दर हरिया फाँटहरू भएको यो प्रदेशमा पर्यटन तथा कृषिको विकास मार्फत आर्थिक समृद्धिलाई चाँडै मूर्त रूप दिन सकिने स्थिति छ’ उनले भने, ‘यसका लागि यस क्षेत्रको प्रदेश सरकार र स्थानीय तहले एक आपसमा समन्वयात्मक ढङ्गले काम गरी अगाडि बढ्न आवश्यक छ। कर्णाली प्रदेश सँगसँगै यस क्षेत्रको आर्थिक र पूर्वाधार विकासका लागि नेपाल सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने सहयोगका लागि म सदा प्रतिबद्ध छु ।’ 

टीकापुर सुदूरपश्‍चिमको  सुन्दर र ठूलो आर्थिक सम्भावना बोकेको शहर भएको र सदरमुकाम धनगढीपछिको प्रमुख आर्थिक व्यापारिक केन्द्रको रूपमा रहेको उनको भनाइ थियो ।‘यो क्षेत्र पर्यटन विकासको दृष्टिले पनि उत्तिकै महत्त्वपूर्ण क्षेत्रको रुपमा रहेको छ। टीकापुरमा आयोजना हुन गइरहेको यो महोत्सवले यस क्षेत्रका कृषक, उद्यमी, व्यवसायी, कलाकारहरू सबैलाई एकै ठाउँमा जुटाई आफ्नो उत्पादन र सिर्जनाहरू व्यवस्थित तवरले प्रस्तुत गर्न, एक आपसमा ज्ञान तथा अनुभवको आदान प्रदान गर्न र सहकार्यका क्षेत्रहरू पहिल्याउन ठूलो सहयोग पुग्ने कुरामा दुई मत छैन’, उपप्रधानमन्त्री खड्काले भने ।​

सुदूरपश्‍चिम प्रदेशको समग्र विकास र समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले पश्चिम सेती जलविद्युत आयोजना, पञ्‍चेश्वर बहुउद्देश्यीय आयोजना, रानीजमरा (कुलरिया सिँचाई आयोजना, चमेलिया जलविद्युत आयोजना, दोधारा) चाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण जस्ता ठूला परियोजनाका साथै अन्य मझौला तथा साना आयोजनाहरूको निर्माण र सञ्‍चालनका लागि सरकारले प्राथमिकताका साथ प्रक्रिया अगाडि बढाएको  उनले बताए ।

‘भर्खरै मात्र गेटा मेडिकल कलेजलाई व्यवस्थित तवरमा सञ्‍चालनमा ल्याउन आवश्यक कार्यहरू प्रारम्भ गरिएको छ’, उनले भने, ‘उल्लिखित आयोजनाहरूको निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा आर्थिक विकासका नयाँ क्षितिजहरू उद्‌ंघाटित हुने र रोजगारीका लागि हाम्रा भाइबहिनीहरू विदेशिनु पर्ने स्थितिको अन्त्य हुने कुरामा म विश्वस्त छु ।’

प्रतिक्रिया दिनुहोस