पशुपतिको आरती र दीप प्रज्वलनको कपीराइटसम्बन्धी सूचनामा कोषको असहमति

सफल खबर संवाददाता

शुक्रबार, २० पुस २०८०, १६ : २२
पशुपतिको आरती र दीप प्रज्वलनको कपीराइटसम्बन्धी सूचनामा कोषको असहमति

काठमाडौँ । बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न नपाइने भनी प्रकाशित गरेको सूचनाप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ ।

विकास कोष सञ्चालक परिषद्का कार्यकारी निर्देशक लक्ष्मी पुनले आज एक सूचना प्रकाशित गर्दै बुढासुब्बा डिजिटल प्रालिद्वारा प्रकाशित उक्त सूचनामा कोषको गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।

‘बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न सख्त मनाही छ । यहाँ खिचिएका भिडिओ सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रायोजनका लागि राखिएमा डिजिटल कपीराइट ऐनअन्तर्गत कारबाही हुने जानकारी गराउँदछौँ भन्ने सूचनामा विकास कोषको गम्भीर ध्यानाकर्षण भएको र उक्त सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नामसमेत राखी सूचना प्रकाशित भएकामा कोषको असहमति रहेको छ । उक्त सूचना प्रकाशितप्रति कोषको कुनै पनि संलग्नता नरहेको ब्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौँ”, कोषद्वारा प्रकाशित विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस