काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका पाइलट सम्राटबहादुर शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीमाथि बिहीवार विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका नरहरि घिमिरेले जानकारी दिए ।
अख्यितारले शाहमाथि झुटो (नक्कली) शैक्षिक प्रमाणपत्र पेश गरेर विमान चालकको हैसियतमा लाभ लिई भ्रष्टाचार गरेको आरोप लगाएको छ । उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको आयोगको ठहर छ ।
०७१ फागुन १० गते निगममा जुनियर क्याप्टेन पदमा नियुक्त भएका बखत शाहले नक्कली प्रमाणपत्र पेश गरेको पाइएको अख्तियारले बिहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नक्कली प्रमाणपत्र पेश गरेका शाह पछि आठौँ तहको विमान चालक (क्याप्टेन) पदमा पनि बढुवा भई कार्यरत रहेको जनाइएको छ ।
‘शाहले झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी विमान चालकको हैसियतमा लाभ लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको छ,’ विज्ञप्तिमा भनिएको छ, उनलाई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई बिहीवार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ पुस २०८०, १६ : ५०
लेखकबाट थप