मेयर रेनु दाहालको निर्देशनपछि कटान क्षेत्र नियन्त्रणको प्रयास

मंगलबार, १९ भदौ २०७५, १७ : ५२
मेयर रेनु दाहालको निर्देशनपछि कटान क्षेत्र नियन्त्रणको प्रयास


चितवन । भरतपुर महानगरपालिकाको वडा नं २७ र २८ साविक मेघौली गाविसको न्यूरचोकमा नारायणी नदीले गरेको कटान क्षेत्रमा रोकथामका प्रयास भइरहेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कटान क्षेत्रमा सम्पूर्ण स्रोत र साधन परिचालन गरी नियन्त्रण गर्न निर्देशन दिएपछि सो क्षेत्रमा यतिबेला नियन्त्रणको प्रयास भइरहेको छ । महानगर प्रमुख रेनु दाहालका अनुसार कटान क्षेत्रमा सुरक्षाकर्मीहरु नियन्त्रण गर्न जुटिरहेका छन् । 

‘सम्पूर्ण स्रोत परिचालन गरेर नदी कटानलाई नियन्त्रण गरिरहेका छौँ, तारजाली हालिएको छ । बोरामा ढुंगा, बालवा भरेर तटबन्धको कामहरु गरिरहेका छौँ’ मेयर दाहालले भन्नुभयो । उहाँका अनुसार डुबान हुन सक्ने खतरालाई मध्यनजर गर्दै स्थानीय बासिन्दालाई सुरक्षित ठाउँको व्यवस्था गरेका छौँ । 

मेयर दाहालले भन्नुभयो, ‘स्थानीयमा केही त्रास भए पनि महानगरको सक्रियताका कारण थप त्रास भएको छैन, सम्पूर्ण स्रोत र साधन परिचालन गरेर कटानलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ । 



भरतपुर महानगर २७ का वडाध्यक्ष गोविन्द तामाङले सुरक्षाकर्मीलगायत सम्पूर्ण मानवस्रोत परिचालन गरेर कटानलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले पानीको बहाब बढेको छैन, महानगरलगायत स्थानीय स्रोतले कटान नियन्त्रण गर्नको लागि गरिएका कामहरु प्रभावकारी भइरहेका छन् ।’
यतिबेला जिल्ला प्रशासन कार्यालयमा नदी कटानको विषयमा विपद् व्यवस्थापनको आपतकालीन बैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा विशेष उपस्थितिको रुपमा भरतपुर महानगर प्रमुख रेनु दाहाल पनि उपस्थित हुनुभएको थियो । बैठकले नारायणी नदी व्यवस्थापन आयोजना र भरतपुर महानगरपालिकाले एकअर्कासँग समन्वय गरी तत्काल कटान नियन्त्रणको प्रयास गर्ने निर्णय गरेको प्रजिअ जितेन्द्र बस्नेतले बताउनुभयो । 


महानगरले आवश्यक पर्ने तारजाली, बोराको व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको उनले बताए । यसैगरी बैठकमा सम्पूर्ण जनशक्ति र सामग्रीहरु तयारी अवस्थामा राख्ने निर्णय भएको छ । नजिकका स्कुलहरुलाई खाली राख्ने, त्रिपाललगायतका सामग्री व्यवस्थापन गर्ने, उच्च जोखिम भएको ठाउँका मानिसहरुलाई तयारी अवस्थामा राख्ने, सुरक्षाकर्मीको व्यवस्थापन गर्ने लगायतका निर्णयहरु भएको प्रजिअ बस्नेतले जानकारी दिनुभयो ।  
 

प्रतिक्रिया दिनुहोस