सांसदको प्रश्नमा यस्तो जवाफ दिए प्रधानमन्त्री ओलीले

मंगलबार, १९ भदौ २०७५, १७ : ००
सांसदको प्रश्नमा यस्तो जवाफ दिए प्रधानमन्त्री ओलीले


काठमाडौं ।  संसदमा १४ सांसदले प्रधानमन्त्री केपी ओलीलाई प्रश्नका वाणहरु जोडतोडले तेसारेका थिए । बिम्स्टेकको सांसदले सैन्य अभ्यासदेखि रिट्रट रद्दसम्मको प्रश्न गरेका थिए ।  
बिम्स्टेक संयुक्त सैन्य अभ्यासको विषयमा नेपाली कांग्रेससहित अन्य प्रतिपक्षी सांसदहरुले पनि जवाफ मागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रष्ट पार्दै बिम्स्टेक राष्ट्रहरुबीच सैन्य अभ्यासको सम्झौता नभएको बताए । 
सांसद दिव्यमणि राजभण्डारीलगायतले सैनिक अभ्यासले सशंकित बनाएको भन्दै सार्क राष्ट्रबीच पनि यस्तो अभ्यास नभएको भनी राखेको प्रश्नमा प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले संयुक्त सैन्य अभ्यासबाट त्रसित हुनुपर्ने अवस्था नरहेको जिकिर गरे ।
उनले प्रतिप्रश्न गरे सैन्य अभ्यास ? कहाँबाट आयो यो कुरा ? कसको सैन्य अभ्यास ? विभिन्न देशहरुका बीच सैनिक अभ्यास अहिले हैन, पहिलेदेखि भइरहेको भन्दै उनले भने, ‘मन्त्री भइसकेका माननीयहरुले पनि प्रश्न गरेको देख्दा अचम्म लाग्छ ।
उनले नेपालमा विभिन्न देशका सैनिक पढ्न आउने र पढेर डिग्री लिएर जाने कुरा बताए । नेपालको डिफेन्स कलेज ब्याचलरमा पढाइ भइरहेको बताउँदै हाम्रा सैनिकहरु पनि अन्यत्र गएर पढ्ने र ट्रेनिङका लागि जाने गरेको उनले स्पष्ट पारे । ‘नेपालको भारत, पाकिस्तान, चीन, अमेरिकासँग सैनिक अभ्यास हुने गरेको छ’, उनले भने ।
प्रम ओलीले भने, ‘बिम्स्टेकलाई मिलिट्री प्याक्ट बनाउने कुरा होइन । फ्रेन्डसिपको कुरा गरेको छ । मिलिट्री प्याक्ट भित्र नेपाल पस्न खोजेको होइन । आतंकवादविरुद्ध, वातावरणीय विषयहरुका लागि अभ्यास आदानप्रदान हुन लागेको हो ।’ सांसद प्रेम सुवाल,  पूर्वमन्त्री समेत रहेका मिनेन्द्र रिजाल, सांसद मिनबहादुर विश्वकर्मा, अमरेशकुमार सिंह सांसद भरतकुमार शाहलगायतले प्रश्न राखेका थिए । 
कांग्रेसका सांसद भरतकुमार साहले बिम्स्टेकले सामर्थ्य बढाएको भनी प्रधानमन्त्री ओलीले भनेको तर गोकर्णसम्म पुग्ने बाटो बनाउन नसकेर रिट्रिट रद्द भएको छ कसरी सामर्थ्य बढेको भनी प्रश्न राखे। सभागृहमा सुरक्षाका कारण सम्मेलन हुन नसकी सोल्टी होटलमा सम्मेलन गर्नुलाई कसरी सामर्थ्य भन्ने ? उनको अर्को प्रश्न थियो । प्रधानमन्त्री ओलीले भने गोकर्णमा रिट्रिट रद्द बाटोका कारण नभई मौसमका कारण भएको प्रष्टिकरण दिए । 
राष्ट्रिय सभागृहमा धेरै कुराको असुविधा भएको भन्दै जानुअघिको होल्डिङ रुम, सेक्रेटरियाट आदिको अभाव भएको र अभाव र अस्तव्यस्तता नहोस् भनेर सहजता र अनुकूलताका लागि र ट्राफिक व्यवस्थाका लागि पनि सोल्टीमा सम्मेलन गरिएको बताए। 
विदेशी सेना किन ?
प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक सम्मेलनका क्रममा विदेशी नेताहरुको सुरक्षार्थ आएका सुरक्षाकर्मीको विषयलाई अनावश्यक ढंगले उछालिएको बताए । प्रमले भने, कतिपय विषयलाई अनावश्यक ढंगले उछाल्नु उचित हुन्न । सुरक्षाको विषयलाई हामीले ठीकै ढंगले उठाउनु पर्छ ।‘
उनले भने, ‘विदेशी सेना इन्भेड गर्न वा कब्जा गर्न आएको हैन । ‘प्रधानमन्त्रीले नेपालले पनि विदेश भ्रमणमा जाँदा सुरक्षाकर्मी लिएर जाने गरेको बताए । ‘सुरक्षा गच्छे अनुसार हामी पनि बाहिर जाँदा सेनालाई युनिफर्ममा लिएर गएका हुन्छौँ । गैर युनिफर्ममा लिएर गएका हुन्छौँ । यो स्वभाविक कुरा हो ।
 एउटा मोटरसाइकलमात्र दुर्घटना, के भयो, सफल भएन ?
सांसदहरुले बिम्स्टेक सम्मेलन कसरी सफल भएको भनी सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले एक ठाउँमा एउटा मोटरसाइकलमात्र चिप्लिएर दुर्घटना भएको बताउँदै भने, ‘एस्कर्टिङमा रहेका प्रहरीलाई आफैलाई अलिकति गालामा चोट लाग्यो । आफूलाई लाग्यो तर अरुलाई लाग्न दिएन। यत्रो इभेन्टमा कतै केही हुन दिएन।  यसले सुरक्षा सक्षमता प्रष्ट भएन र ?’

प्रतिक्रिया दिनुहोस