फुड फेस्टिबलको आज अन्तिम दिन, सुप्रिम मल्ल र अन्नु चाैधरीलगायत आउने

सफल खबर संवाददाता

बुधबार, १८ पुस २०८०, ११ : २८
फुड फेस्टिबलको आज अन्तिम दिन, सुप्रिम मल्ल र अन्नु चाैधरीलगायत आउने

चितवन  । होटल व्यवसायी संघ चितवनको आयोजनामा नारायणगढको क्याम्पाचौरमा जारी रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रमको आज समापन हुँदै छ । फुड फेस्टिबलको आज साँझ ५ बजे होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले समापन गर्ने कार्यक्रम छ ।

पुस १४ गतेदेखि सुरु भएको फुड फेस्टिबलमा हिजो (मंगलवार)सम्म २५ हजार भन्दा बढी दर्शक पुगेको होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले जानकारी दिए । आज अन्तिम दिन अवलोकनकर्ताको अत्यधिक सहभागी रहने अपेक्षा गरिएको छ । पुस १५ र १६ गते टिकटको व्यवस्था गरिएको थियो भने अन्य दिन निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उनले बताए ।

फुड फेस्टिबलमा आज बालकलाकार सुप्रिम मल्ल ठकुरी, कलाकारहरु अन्नु चौधरी, भुवन प्यासी लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने उनले जानकारी दिए । फुड फेस्टिबल तथा सांस्कृतिक कार्यक्रममा दैनिक राष्ट्रिय र स्थानीय चर्चित कलाकार एवम् व्याण्डले प्रस्तुती दिँदै आएका छन् । यहाँ साना ठूला गरी ३९ वटा स्टल रहेका छन् ।

फुड फेस्टिबल सकिएपछि आर्थिक हिसाब किताव सार्वजनिक गरिने आयोजक होटल व्यवसायी संघले जनाएको छ । आर्थिक मन्दीका कारण होटल व्यवसाय क्षेत्र पनि धरासायी भइरहेको अवस्थामा यस फुड फेस्टिबलले व्यवसायीमा उर्जा थप्ने र आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ ।

फुड फेस्टिबलको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी, सह प्रायोजकमा नेपाल लिक्कर्स र टिकट सौजन्यमा यति डिष्ट्रिलरी रहेका छन् भने हस्पिटालिटी पार्टनरमा ग्यालेक्सी गार्डेन रिसोर्ट र होटल ह्याप्पी होम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस