सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १३ पुस २०८०, १२ : १०
सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं । पर्सा, सिरहा, चितवन र बाजुरामा भएको सवारी दर्घटनामा ४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार-पर्सा- छिपहरमाई गाउँपालिका-३ झलमैयास्थित सडकमा ना.७ ख ९४९४ नम्बरको बसबाट लडेर सोही बसको टायरमा च्यापिएर बसमा सवार छिपहरमाई गाउँपालिका-३ झलमैया बस्ने २२ वर्षीय अर्जुन यादवको बिहीबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिरहा- नवराजपुर गाउँपालिका-४ स्थित सडकमा बीआर ३२ एएन ०५९२ नम्बरको स्कुटर र स.९ प १७३० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा स.९ प १७३० नम्बरको मोटरसाइकलमा सवार नवराजपुर गाउँपालिका-२ मझौरा बस्ने ७३ वर्षीय बिल्टु यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि घोपा धरानतर्फ पठाइएको छ भने स्कुटर चालकको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ ।

चितवन- भरतपुर महानगरपालिका-१२ मिलन चोकमा भरतपुरबाट टांडीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ज ४५८ नम्बरको ईलेक्ट्रिक भ्यानको ठक्करबाट पैदलयात्री कास्की पोखरा महानगपालिका-१ सिमपानी घर भई चितवन भरतपुर महानगरपालिका-११ घोल बजार बस्ने ६१ वर्षीय गणेश थापा मगरको बिहीबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार भ्यान चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बाजुरा- गौमुल गाउँपालिका-६ नर्सरीस्थित सडकमा घटमुना बजारदेखि मालिवनतर्फ जाँदै गरेको से.१ ज ९८९ नम्बरको बोलेरो जिप आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक खप्तडछेडेदह गाउँपालिका-६ बस्ने ४० वर्षीय देबेन्द्र नाथको घट्नास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका जिपमा सवार १ जनाको घटमुना आधारभूत स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस