स्मार्ट सिटी अवधारणालाई साकार पार्छु : दाहाल

सोमबार, १८ भदौ २०७५, ११ : २१
स्मार्ट सिटी अवधारणालाई साकार पार्छु : दाहाल

भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरलाई देशकै सफा र हरियाली महानगर बनाउँदै स्मार्ट सिटीको अवधारणालाई साकार पार्ने बताउनुभएको छ । 
भरतपुर महानगरपालिकाको मुख्य सहर नारायणगढ बजारको राजमार्गको सरसफाइ अभियानको क्रममा प्रमुख दाहालले देशकै सफा र हरियाली महानगर बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘महानगरलाई सफा र हरियाली बनाउने अभियानमा हामी लागेका छौँ, स्मार्ट सिटीको परिकल्पनालाई साकार पार्न पनि सबैभन्दा पहिला नगर हरियाली र सफा हुनुपर्छ ।’ 
उहाँका अनुसार महानगरलाई सफा र हरियाली बनाउनको लागि विभिन्न सरसफाइमा जुटेका सामाजिक संघसंस्थाहरु र अभियान्ताहरुले महानगरलाई साथ र सहयोग भइरहेको छ । मेयर दाहालले भरतपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्दै लैजाँदा सफा र हरियाली अनिवार्य भएको हुँदा यसलाई महानगरले प्रमुख प्राथमिकता दिएको बताउनुभयो । महानगरले यसअघि भरतपुरलाई स्मार्ट सिटीको रुपमा विकास गर्न वृहत विज्ञहरुको गोष्ठीसमेत चलाएको थियो । गोष्ठीमा नगरलाई हरियाली र सफा बनाउनुपर्ने कुरासमेत उठेको थियो । 

प्रमुख दाहालले भरतपुर महानगरलाई सफा र हरियालीको नमुनाको रुपमा चिनाएर विश्वका पाहुनालाई भरतपुर आउने वातावरण सिर्जना गर्नु नै महानगरको ध्येय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महानगरलाई स्मार्ट सहर बनाउन पनि पहिला सफा र हरियाली चाहिने भएकाले महानगरले सफा र हरियालीलाई तीव्र रुपमा अगाडि बढाइरहेको छ । ‘महानगरका ३ वटा वडाहरु सरसफाइयुक्त घोषणा भइसकेको छ, निकट भविष्यमा नै भरतपुर महानगरलाई हरियाली र सरसफाइयुक्त महानगर घोषणा गर्ने अठोट मैले लिएको छु’ प्रमुख दाहालले भन्नुभयो । 
उहाँल भरतपुर महानगरपालिकालाई वातावरणमैत्री, हरियाली र सफा सहर बनाउन विभिन्न योजनाहरु ल्याएको बताउनुभयो । नगरलाई सफा र हरियाली राख्न भरतपुर महानगरले १ घर २ बिरुवा अभियान पनि चलाइरहेको छ । भरतपुरलाई वातावरणमैत्री बनाउन वातावरणको क्षेत्रमा काम गर्ने संघसंस्थालाई अझ प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने प्रमुख दाहालको भनाइ थियो । 


नारायणगढमा सरसफाइ र बिरुवा रोपन
भरतपुर महानगरले आज नारायणगढको सरसफाइ र बिरुवा रोपनको कार्यक्रम सम्पन्न गरेको छ । नारायणगढको बजारको बीच सडकको क्यारीमा सरसफाइसहित झण्डै ५०० विभिन्न प्रजातिका फूललगायतका बिरुवा रोपिएको भरतपुर महानगरका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । 
भरतपुर महानगरलाई सफा र हरियाली बनाउने अभियान चलिरहेको उहाँको भनाइ थियो । सरसफाइ अभियानअन्तर्गत नै आज नारायणगढमा बिरुवा रोप्ने र सरसफाइ गर्ने कार्यक्रम भएको प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । 
महानगरको सरसफाइ अभियानमा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, सरसफाइमा लागेको वे गु्रप, लायन्स क्लब अफ बागेश्वरी, विभिन्न संघसंस्थालगायत सामाजिक अभियान्ताहरु सहभागी थिए । भरतपुर वडा नं १ का वडाध्यक्ष जयराम श्रेष्ठले सहरलाई हरियाली बनाउनको लागि महानगरले अभियान चलाइरहेको र त्यही अभियानअन्तर्गत नारायणगढ बजारको सरसफाइ तथा बिरुवा रोप्ने काम भएको बताउनुभयो ।
सामाजिक अभियान्ताहरुले विभिन्न २० भन्दा बढी जातको बिरुवा संकलन गरेका थिए । ट्राफिक कार्यालयका प्रमुख वेदप्रसाद गौतमले नगरलाई सफा र हरियाली बनाउन ट्राफिक प्रहरीको पनि मुख्य भूमिका हुने भएकाले अभियानमा लागेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस