काठमाडौँ । विधान संशोधनबारे नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीमा खुला छलफल गर्ने भएको छ । यसअघि विधान संशोधनका लागि सचिवालय, स्थायी र पोलिटब्युरो बैठकमा छलफल गरेर केन्द्रीय कमिटीमा छलफल गर्ने तयारी गरेको सो पार्टीले स्थायी कमिटी र पोलिटब्युरो बैठक नै स्थगित गरेर केन्द्रीय कमिटीमा छलफल गर्न लागेको हो ।
शनिबार बसेको सो पार्टीको सचिवालय बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेस गर्दै सोही कमिटीमा छलफल गर्ने निर्णय गरेको हो ।
सचिवालय बैठकले पार्टीको विधान संशोधन कार्यसमितिले पेस गरेको विधान संशोधन प्रस्तावमाथि सचिवालयमा आएका सुझाव तथा संसोधनहरुसमेत समावेश गरेर पुस ११, १२ र १३ गते बस्ने केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । उनले यसअघि स्थायी कमिटी र पोलिटब्युरो बैठकमा विधान संशोधनबारे छलफल गर्ने हुँदा केन्द्रीय कमिटी २ दिनलाई मात्र राखिएकोमा त्यो स्थगित भएपछि केन्द्रीय कमिटी बैठकको समय बढाएर तीन दिन पारिएको बताए ।
‘पहिला केन्द्रीय कमिटी पुस ११ र १२ मात्र भनिएको थियो । अहिले एक दिन थपेर १३ सम्म बस्ने निर्णय भएको छ’, खतिवडाको भनाइ छ ।
समाजवादीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका क्रममा विधान संशोधनका लागि पार्टीका सङ्गठन विभाग प्रमुख वेदुराम भुसाल संयोजकत्वमा समिति गठन गरेको थियो । भुसाल नेतृत्वको समितिले तयार पारेको प्रस्ताव केन्द्रीय कमिटी र राष्ट्रिय सम्मेलन हुँदै महाधिवेशनमा पेस गर्ने तयारी छ ।
यसअघि पुस ९ र १० गते क्रमशः स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्ने तय भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ पुस २०८०, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै
मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई मन्त्रीले लिए शपथ
एकीकृत समाजवादीलाई एकतामा आउन ओलीको प्रस्ताव