युवाहरुले सपना पूरा गर्न विदेश जानुपर्दैन : अर्थमन्त्री महत

सफल खबर संवाददाता

शनिबार, ०७ पुस २०८०, १४ : २९
युवाहरुले सपना पूरा गर्न विदेश जानुपर्दैन : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले युवाहरुको सपना पूरा गर्ने अवसर नेपालमा नै रहेको बताएका छन् ।  शनिवार नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको स्टार्टअप फेस्ट, २०२३ कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् । 

उनले युवाहरुको हरेक सपना पूरा गर्ने अवसर नेपालमा रहेको भन्दै सपना पूरा गर्न विदेशमा नै जानुपर्छ भन्ने मानसिकताबाट बाहिर आउन आवश्यक रहेको बताए । उनले भने– ‘आइटी क्षेत्रमा निर्यात वृद्धि भइरहेको छ । अझ बढ्ने अवस्था छ । आइटीको मुलुकभित्र संस्थागत विकासमा युवाहरुको ठूलो भूमिका हुन्छ । पछिल्लो समय युवाहरु विदेश जाने प्रणाली विकास भएको छ । त्यसलाई रोक्न पनि आइटी क्षेत्रको प्रवद्र्धन गर्न आवश्यक छ ।’ 

अर्थमन्त्री महतले नेपालको क्षेत्रको विकास गर्न बाँकी रहेकाले युवाहरुलाई मुलुकभित्रै अवसर नै अवसर रहेको उल्लेख गरे । उनले कक्षा १२ अध्ययन सकेर विदेशै जानुपर्छ भन्ने मान्यतालाई अब युवाहरुले नै सचेतना अभियान चलाउन आवश्यक रहेको बताए । उनले ठूला विकसित देशमा ठूलो नयाँ इनोभेसन भए मात्रै नेपाली युवाले अवसर पाउने बताए । उनले नेपालमा केही काम छैन र विदेशमा मात्रै छ भन्ने नकारात्मक मानसिकता तोड्न आवश्यक रहेको समेत बताए । 

‘अहिले ४० प्रतिशत भन्दा बढी युवा आइटी क्षेत्रमा जोडिनुभएको छ । आइटीमा लागेका  युवाहरुले अरु युवाहरुलाई पनि सँगै लिएर जान मेरो अनुरोध छ । अध्ययनको लागि पूर्ण छात्रवृत्ति आउँछ भने अध्ययनको लागि जान आवश्यक हुन्छ । तर कुनै छात्रवृति छैन र आकर्षण रुपमा विज्ञापन गरेको आधारमा युवाहरु विदेश गइरहेका छन् । त्यहाँ गएकाहरुको बेहाल छ’ अर्थमन्त्रीले भने– ‘विदेशमा सबैको लागि सहज छैन । अहिले १२ कक्षादेखि बाहिर जाने क्रम चलेको छ । युवाहरुले नै यसलाई रोक्न अग्रसर हुनुपर्छ । विदेशमा गएकाहरु सबैको राम्रो अवस्था नभएको भन्दै विदेश जान रोक्न सचेतना अभियान युवाहरुले गर्नुपर्छ । नेपालमा नै धेरै अवसरहरु छन् ।’ 

उनले नेपाल भित्रै केही गर्न सकिन्छ भन्ने हिसावमा युवाहरुले सुक्ष्मदृष्टिले हेर्न आवश्यक रहेको बताउँदै स्टार्टअप उद्योगको लागि सरकारले बजेटमार्फत सहुलियत समेत दिएको बताए ।  अर्थमन्त्री महतले नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले युवाहरु सो क्षेत्रतर्फ लाग्न आवश्यक रहेको बताए । उनले नेपालको आइटी विदेशमा निर्यात भइरहेको भन्दै आगामी दिनमा निर्यात अझ बढ्ने अवस्था रहेको बताए । उनले सरकारले पनि आईटी क्षेत्रको प्रवद्र्धन गर्दै लैजाने बताए ।

उनले विभिन्न समस्याबाट गुज्रिएको अर्थतन्त्र सकारात्मक रुपमा सुधार हुँदै गएको दाबी गरे । उनले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको भन्दै अब जम्मा भएको पुँजीलाई चलायमान बनाउन आवश्यक रहेको भन्दै सरकारले त्यही विषयमा केन्द्रित रहेको बताए । 

प्रतिक्रिया दिनुहोस