शहीदको रगतले देशलाई ऊर्जा प्राप्त भएको छ : देउवा

सफल खबर संवाददाता

आइतबार, १७ भदौ २०७५, २१ : ४९
शहीदको रगतले देशलाई ऊर्जा प्राप्त भएको छ : देउवा

चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शहीदको रगतले देशमा ऊर्जा प्राप्त भएको बताउनु भएको छ । पश्चिम चितवनको शारदानगरमा आइतबार साँझ आयोजित शहीद परिवारलाई सम्मान तथा नेपाल भारत मैत्री सांस्कृतिक  कार्यक्रममा बोल्दै उहाँले शहीदहरुकै बलिदानले यो उपलब्धि प्राप्त भएको बताउनु भयो । 
देशको यो उपलब्धिलाई संरक्षण गर्न सकेमात्र शहीदका सपना पूरा हुने उहाँको भनाई थियो । सभापति देउवाले देशमा संसदीय बहुदलीय व्यवस्था प्राप्त हुनुमा शहीदकै योगदान रहेको बताउनु भयो । उहाँले शहीदहरुको योगदानलाई देशले कहिल्यै नबिर्सने बताउनु भयो । 
२००७ सालदेखि २०४६ सालसम्म कांग्रेसले सञ्चालन गरेका विभिन्न आन्दोलनहरुमा शहादत प्राप्त ८ जना शहीदका परिवारलाई सम्मान गर्दै सभापति देउवाले शहीदका योगदानलाई बिर्सन नसकिने धारणा राख्नुभयो । 
“हाम्रो पार्टी नेपाली कांग्रेसले मात्रै हैन, देशले नै शहीहरुले दिएको योगदानलाई कहिल्यै बिर्सने छैन” सभापति देउवाले भन्नुभयो । उहाँले लोकतन्त्र प्राप्तिका लागि शहीदहरुले पु¥याएको योगदानको कदर गर्दै पार्टीले उहाँहरुका परिवारलाई सधैँ सहयोग गर्ने विश्वास दिलाउनु भयो । 
नेपाली युवाहरुले गोर्खा राइफल्समा भर्ती भएर भारतको स्वतन्त्रताको लडाइँमा साथ दिएको उल्लेख गर्दै सभापति देउवाले उनीहरुले नेपालको राजनीतिक आन्दोलनमा पनि ऊर्जा थपेको धारणा राख्नुभयो । २००७ सालदेखि २०१८ सालसम्मको आन्दोलनमा नेपालमा बढी गोर्खा राइफल्सबाट फर्किएका युवाहरुको सहभागिता रहेको पनि उहाँले बताउनु भयो । 
उहाँले शहीदहरुको रगतले नेपालमा ऊर्जा थपेको उल्लेख गर्दै शहीदका सपना आफूहरुले पूरा गरेको बताउनु भयो । “अहिले प्राप्त संसदीय बहुदलीय प्रजातन्त्र शहीदहरुको बलिदानीकै उपलब्धि हो” उहाँले भन्नुभयो । विभिन्न साँस्कृतिक कार्यक्रमहरुले नेपाल भारतको सम्बन्धमा प्रगाढता र आत्मियता जोडिएको बताउनु हँुदै उहाँले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । 
धर्मोदय क्लब सहितका विभिन्न संघसंस्थाहरुले आयोजना गरेको कार्यक्रममा नेपाल र भारतका विभिन्न साँस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँडले शहीदहरुको बलिदानको जगमा देशको राष्ट्रियता जोगिएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपाल र भारतबीचको साँस्कृतिक सम्बन्ध सदियौंदेखिको भएको बताउनु भयो । “नेपाल र भारतबीचको साँस्कृतिक सम्बन्ध भगवानको पालादेखिको हो” उहाँले भन्नुभयो, “नेपालको सांस्कृतिक क्षेत्रको संरक्षणमा भारत सरकार सहयोग गर्न तयार छ ।”
कार्यक्रममा २००७ सालमा शहादत प्राप्त धर्मध्वज गुरुङ, लालध्वज गुरुङ, २०१८ सालमा शहादत प्राप्त खेमबहादुर गुरुङ, शमशेरबहादुर गुरुङ, बुद्धसिंह राना, इमानसिंह राना, हरिबहादुर राना र २०४६ सालमा शहादत प्राप्त गणेश पौडेलका परिवारलाई सम्मान गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस