कांग्रेस विधान संशोधन मस्यौदा तयार पार्न तीन उपसमिति गठन

सफल खबर संवाददाता

आइतबार, १७ भदौ २०७५, १९ : ०७
कांग्रेस विधान संशोधन मस्यौदा तयार पार्न तीन उपसमिति गठन

सबै तहमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न महिला संघको माग

काठमाडौँ । नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा तयार पार्न ३ वटा उपसमिति गठन गरिएको छ । नेपाली कांग्रेस विधान संशोधन मस्यौदा समितिले आईतबार काठमाडौँमा पत्रकार सम्मलेन गरी विधानको प्रारम्भिक मस्यौदा तयार पार्न संरचनासम्बन्धी उपसमिति, कार्य विभाजनसम्बन्धी उपसमिति र अन्य निकाय तथा आन्तरिक व्यवस्थापनसम्बन्धी उपसमिति गठन गरिएको जानकारी गराएको हो ।

राज्यको पुनर्संरचनाअनुसार पार्टीको विधान संशोधन गर्ने जिम्मेवारी पाएको संरचनासम्बन्धी फरमूल्लाह मन्सुर संयोजक रहेको उपसमितिलाई दिइएको छ ।

त्यसैगरी पार्टीका सबै निकायको काम, कर्तव्य र अधिकारका प्रारम्भिक मस्यौदा तयार पार्ने जिम्मेवारी डाक्टर मिनेन्द्र रिजाल संयोजक रहेको उपसमितिलाई दिइएको छ ।

मानबहादुर विश्वकर्मा संयोजक रहेको अन्य निकाय तथा आन्तरिक व्यवस्थापन सम्बन्धि उपसमिति रहेको छ ।
तीन वटै उपसमितिले आगामी भाद्र २३ गते भित्र विधान संशोधन सम्बन्धि प्रारम्भिक मस्यौदा तयार पारी समितिमा पेश गर्ने कार्यादेश पनि दिइएको विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले जानकारी दिनु भयो । उपसमितिहरुले पेश गरेको प्रारम्भिक मस्यौदालाई समितिले एकीकृत गर्नेछ । एकीकृत मस्यौदामाथि छलफल गर्न प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिने पनि प्रवक्ता लेखकले जानकारी दिनु भयो । नेपाली काँग्रेसले राज्यको पुनर्संरचना अनुसार पार्टीको विधान तयार पार्न महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिले भदौभित्र तयार हुने गरी पार्टीको विधान संशोधन मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको छ ।

 

प्रतिक्रिया दिनुहोस