काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच सम्झौता

सफल खबर संवाददाता

मंगलबार, ०३ पुस २०८०, १३ : ११
काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच सम्झौता

काठमाडौं। काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच चिकित्सा शास्त्र अध्ययनमा सहकार्य गर्ने समझदारी भएको छ ।उक्त सम्झौतामा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा तथा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले हस्ताक्षर गरेका छन् ।

 

सोमवार विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले विगतमा काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेसनसँग भएको सम्झौता स्मरण गर्दै यो सम्झौताले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यलाई थप प्रगाढ बनाएको बताए ।

दुवै पक्षबीच एक आपसमा रहेको ज्ञान र अनुभवका साथसाथै विज्ञताको आदानप्रदान हुने उनको भनाइ थियो । साथै शैक्षिक कार्यक्रममा परस्पर सहयोग अभिवृद्धिका लागि मार्ग प्रशस्त गरेको र दुवै निकायको क्षमतामा थप वृद्धि हुने उनले विश्वास व्यक्त गरे ।

 

 

 

यस्तै, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा  थापाले नेपाल प्रहरीसँगको सम्झौतामार्फत मेडिकल एजुकेसनमा हातेमालो गर्दै विश्वविद्यालयले थप गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्न सहयोगी हुने विश्वास व्यक्त गरे । साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्यको क्षेत्रलाई अगाडि बढाउँदै लैजाने उनले बताए ।

सम्झौतापत्रमा दुवै पक्षले संयुक्त अनुसन्धान परियोजना सञ्चालन गर्ने, एक अर्काको शैक्षिक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने, ज्ञान र विशेषज्ञताको आदानप्रदानलाई प्रवर्द्धन गर्न सहयोगी वातावरणलाई बढावा दिने, चिकित्सा एवं स्वास्थ्यको वर्तमान र भविष्यका आवश्यकतालाई सम्बोधन गर्न शैक्षिक कार्यक्रमको विकास र कार्यान्वयनका सम्भावना अन्वेषण गर्ने उल्लेख गरिएको छ ।

विद्यार्थी, शैक्षिक र प्राविधिक कर्मचारीको सीप र ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आ-आफ्ना सङ्कायका लागि संयुक्त प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, अनुसन्धान निष्कर्ष, प्रकाशन र शैक्षिक सामग्रीसहित शैक्षिक जानकारी दिने, अनुसन्धान र शिक्षाको गुणस्तर बढाउन प्रयोगशाला सुविधा, उपकरण र विधिमा मात्र सीमित नभएर प्राविधिक विशेषज्ञताको साझेदारीलाई दुवै पक्षले सक्रिय रूपमा प्रवर्द्धन गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

सम्झौता हस्ताक्षर भएको दिनदेखि पाँच वर्ष अवधिको लागि लागू हुनेछ ।