आकस्मिकबाहेक सबै सेवा ठप्प, लाइसेन्स पनि सरकारलाई बुझाइँदै

आइतबार, १७ भदौ २०७५, १० : ०९
आकस्मिकबाहेक सबै सेवा ठप्प, लाइसेन्स पनि सरकारलाई बुझाइँदै

चितवन । नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिकबाहेका सबै सेवा ठप्प पारेका छन् ।
संघले भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता)मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै आइतबार एक दिन देशभरको आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारेका हुन् ।
स्वास्थ्य सेवा ठप्प हुँदा सेवा लिन आएका बिरामीहरु घर फर्कन बाध्य भएका छन् ।
चिकित्सक संघले सरकारलाई भदौ १५ सम्म ऐनमा भएका केही व्यवस्था खारेजीको माग गर्दै आज आकस्मिकबाहेक सबै सेवा ठप्प पारेको हो । चिकित्सकमाथिको अपराधीको शैली लक्षित व्यवस्था संशोधन गर्न सहमति जनाए पनि सो समयसम्म माग पुरा नभएका कारण देशैभर आन्दोलन गर्न बाध्य भएको संघले जनाएको छ ।
यसैगरी, संघले आज १२ बजे ५ हजार भन्दा बढी डाक्टरको नेपाल मेडिकल काउन्सिल प्रमाण पत्र (लाइसेन्स) सरकारलाई बुझाउने जनाएको छ । डाक्टरले लाइसेन्स बुझाएपछि बिरामी जाँच गर्न पाउँदैनन् । काउन्सिलको तथ्यांक अनुसार नेपालमा २२ हजार डाक्टरले लाइसेन्स लिएका छन् ।

संघले सार्वजनिक गरेको विरोधका कार्यक्रम

भाद्र १८ गते सोमबार देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द ।
भाद्र १९ गतेदेखि आकस्मिक बाहेकका बिरामी भर्ना गर्ने कार्य बन्द ।
भाद्र २० गते आकस्मिक सेवा बाहेकका अन्य अपरेसनहरु बन्द ।
भाद्र २१ गते आकस्मिकबाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द ।
भाद्र २२ गतेदेखि आकस्मिक बाहेकका ओपिडीलगायत सम्पूर्ण स्वास्थ्य सेवा बन्द ।

 

 

प्रतिक्रिया दिनुहोस