सीमा सुरक्षाबारे सुझाव माग्दै सशस्त्र

सफल खबर संवाददाता

शनिबार, ३० मंसिर २०८०, १६ : ४४
सीमा सुरक्षाबारे सुझाव माग्दै सशस्त्र

काठमाडौं । सीमा सुरक्षा तथा सीमावर्ती राजस्व चुहावट नियन्त्रणका विषयमा सशस्त्र प्रहरी बल नेपालले पूर्वअधिकृतहरुसँग सुझाव लिन थालेको छ । सशस्त्र प्रहरी बल नेपालले संगठनका बहालवाला तथा अवकाश प्राप्त वरिष्ठ अधिकृतहरु बीचमा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा वर्तमान सुरक्षा अवस्था बारेमा छलफल गरी सुझाव लिन थालेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको लक्ष्य प्राप्तिमा यस प्रकारका छलफल महत्वपूर्ण र फलदायी रहने उल्लेख गर्दै प्राप्त सुझाव, सल्लाह तथा रचनात्मक सहयोग संगठनको वृत्तिविकासका लागि मार्गदर्शकसमेत हुने बताए । सुझाव संकलनमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत, किशोरकुमार लामा, शैलेन्द्रकुमार श्रेष्ठ, कोषराज वन्त, सिहंबहादुर श्रेष्ठ र पुष्पराम केसी सहभागी थिए । 

उनीहरुले समयानुकूल सीमा सुरक्षाका चुनौती पनि बदलिँदै जाने भएकाले त्यसैअनुरुप लाग्नुपर्ने सुझाव दिएका छन् । शुक्रबारबाट सुरु उक्त सुझाव लिने कार्यक्रम आगामी दिनमा पनि जारी राख्ने सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले संगठनको उद्देश्य हासिल गर्न यस्ता कार्यक्रम जरुरी रहेको बताए ।   

सीमा सुरक्षामा स्थानीय जनतासँगको सहकार्य महत्वपूर्ण हुने भएकाले संगठनले सीमावासीसँग सहकार्य गर्ने कार्य सुरु गर्नु अत्यन्त महत्वपूर्ण भएको उनीहरुको भनाइ थियो ।