अर्थतन्त्र सुधारतर्फ अघि बढ्यो : अर्थमन्त्री महत

सफल खबर संवाददाता

बुधबार, २७ मंसिर २०८०, १२ : २३
अर्थतन्त्र सुधारतर्फ अघि बढ्यो : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारतर्फ अघि बढेको बताएका छन् । बुधबार मन्त्रालयमा मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

कोभिड महामारी, रुस-युक्रेन युद्धजस्ता अन्तर्राष्ट्रिय कारणहरुले दबाबमा परेको अर्थतन्त्र सुधारका लागि नीतिगत रु मौद्रिक पहल आफूले गरेको मन्त्री महतको दाबी छ ।‘समग्रमा आर्थिक सूचक सकारात्मक भएर गएको छ । तर परिणाम देखिन केही समय लाग्छ । अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख छ,’ उनले भने, ‘मौद्रिक नीति समीक्षापछि सेयर बजार पनि सकारात्मक छ । जग्गा कारोबार पनि बढ्दै छ ।’

मन्त्री महतले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषयहरु अहिले कार्यान्वयनको क्रममा रहेको भन्दै सरकारी खर्चतर्फ वित्त अनुशासनलाई जोड दिइएको बताए ।

‘स्रोतको उपलब्धताका आधारमा बहुवर्षीय ठेक्कामा सहमति दिनेगरी नयाँ मापदण्ड जारी गरिएको छ, जसमा चालु आर्थिक वर्षको विनियोजनको चार गुणासम्म मात्र सहमति दिन सकिने व्यवस्था गरिएको छ,’ उनले भने, ‘यस व्यवस्थाले आयोजनाको प्राथमिकीकरण हुनुका साथै भविष्यमा सिर्जना हुन सक्ने दायित्व व्यवस्थापन सहज हुन जान्छ । त्यसैगरी आयोजनाको महत्वका आधारमा बजेट विनियोजन गर्ने प्रणाली बसालिएको छ ।’

मन्त्री महतले अन्तर्राष्ट्रिय विकास सहायतासम्बन्धी नयाँ नीतिको तर्जुमा सुरु गरिएको पनि बताए । जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न सुरु गरिएको उनको भनाइ छ ।

जलवायु परिवर्तनका कारण मुलुकलाई पर्न गएको असरको क्षतिपूर्ति स्वरुप अनुदान र सहुलियतपूर्ण ऋण सहायता परिचालनमा जोड दिने नीति लिइएको पनि अर्थमन्त्री महतले बताए । ‘विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा जलवायु परिवर्तनसँग सम्बन्धित अन्तर्राष्ट्रिय दातृ निकाय तथा कोषबाट अनुदान र सहुलियतपूर्ण ऋण सहायता परिचालन हुनुपर्ने विषयमा स्पष्ट धारणा राखिएको र यसमा विकास साझेदारहरु सहमत भएकोले आगामी दिनमा यसको नतिजा आउने स्थिति बनेको छ,’ उनले भने । मन्त्री डा. महतले राजस्व परिचालनमा पनि क्रमश: सुधार देखिएको दाबी गरे । 

प्रतिक्रिया दिनुहोस