नेपालमा चिनियाँ पर्यटक बढाउन सघाउने सांघाई चेम्बर र हन्जाओ पर्यटन बोर्डको प्रतिबद्धता

सफल खबर संवाददाता

मंगलबार, २६ मंसिर २०८०, २० : ०२
नेपालमा चिनियाँ पर्यटक बढाउन सघाउने सांघाई चेम्बर र हन्जाओ पर्यटन बोर्डको प्रतिबद्धता

काठमाडौँ । नेपालमा चिनियाँ पर्यटकको संख्या बढाउन सांघाई चेम्बर अफ कमर्स र हन्जायो सिटीको पर्यटन बोर्डले सहयोग गर्ने भएका छन् । हिमालय एयरलाइन्सको पहिलो सांघाई उडानबाट गएको नेकपा एमालेको एक प्रतिनिधिमण्डलसँग सांघाई चेम्बरका प्रतिनिधिले सो प्रतिबद्धता जनाएका हुन् ।

सांघाई चेम्बर अफ कमर्सका तर्फबाट मिस जियो सहभागी छलफलमा नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तार तथा नेपालमा चिनियाँ पर्यटकको वृद्धिका विषयमा अन्तरक्रिया भएको थियो ।पछिल्लो समय चिनियाँ सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ विमान अवतरणबारे पनि छलफल भएको एमाले निकट जिफन्टका एक नेताले जानकारी दिएका छन् ।

उनका अनुसार लुम्बिनी, पोखरा र हिमालय क्षेत्रमा पर्यटन भित्र्याउन आपसमा सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो ।पर्यटकलाई आवश्यक आवतजावतमा सहयोग गर्न आफ्नो कम्पनी हिमालय एयरलाइन्सले सघाउने पनि एयरलाइन्सका महाप्रबन्धकले जनाएको जारी विज्ञप्तिमा उल्लेख छ ।

यही डिसेम्बर २ मा हिमालय एयरबाट पहिलो नेपाली टोली सांघाई गएको थियो । टोलीमा एमाले बागमती प्रदेश कमिटी कार्यालय सचिव गङ्गा श्रेष्ठ, अनेरास्ववियुका महासचिव नरेश रोकाय, ओखलढुङ्गाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा, जिफन्टका नेता कमल गौतमलगायत सहभागी थिए ।

एमाले केन्द्रीय कार्यालयको तर्फबाट गएको सो टोलीले हिजो सिटीको कम्युनिस्ट पार्टीका नेताहरूसँग समेत छलफल गरेको थियो । हिमालय एयरलाइन्सले यसै सातादेखि काठमाडौँबाट सांघाई सीधा उडान थालेको छ ।

प्रतिक्रिया दिनुहोस