संघीय निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने प्रधानमन्त्रीको आश्वासन

सफल खबर संवाददाता

मंगलबार, २६ मंसिर २०८०, १६ : २८
संघीय निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं। सरकारले संघीय निजामती सेवा ऐन अध्यादेशमार्फत जारी गर्ने तयारी गरेको छ ।प्रतिनिधि सभामा विधेयक दर्ता गर्दा पक्ष/विपक्षमा बहस भएर पारित हुन लामो समय लाग्ने भएकाले सरकारले तत्काललाई अध्यादेशमार्फत उक्त ऐन ल्याउने तयारी गरेको हो ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमवार मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको छलफलमा उक्त कुरा बताएका थिए ।

'प्रधानमन्त्रीज्यूले पनि संघीय निजामती ऐन जतिसक्दो छिटो आओस् भन्ने चाहना राख्नुभएको हामीले पायौं,' भेटवार्तामा सहभागी मधेश प्रदेश सभाका एक सांसदले  भने, 'प्रतिनिधि सभामा विधेयक ल्याउँदा गाह्रो हुने भयो, त्यसैले अध्यादेशमार्फत जारी गरेर पछि प्रतिनिधि सभामा पेस गर्ने भनेर हामीलाई सम्माननीयज्यूले भन्नुभयो, त्यसमा हामी पनि सहमत भयौं ।'

 

 

 

संघीय निजामती सेवा ऐन जारी हुनुपर्ने, प्रहरी प्रशासनको अधिकार पाउनु पर्ने मागसहित मधेश प्रदेश सरकारले दबाब दिँदै आएको छ । अहिले संघीय संसद्को अधिवेशन अन्त्य भएको अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस