राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

सफल खबर संवाददाता

मंगलबार, २६ मंसिर २०८०, १२ : ३५
राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौंमा हुने भएको छ ।पार्टीको नयाँ नियमावलीको मस्यौदामा आवश्यक छलफल गरी त्यसलाई पारित गर्न बैठक बोलाएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

 

पार्टीको संरचनामा स्थानीय, प्रदेश, केन्द्र तथा क्षेत्रीय अधिकार तथा विभिन्न पद र जिम्मेवारीअनुसार नेताहरूको काम, अधिकार र कर्तव्य तोकिएको नियमावली अनुमोदन भएपछि केही नेताहरूको जिम्मेवारीसमेत हेरफेर हुने जनाइएको छ ।पार्टीको एकता महाधिवेशनका क्रममा नयाँ नियमावली निर्माण गर्ने समझदारी भएको थियो ।

 

 

 

राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिन अन्य दलसँग समन्वय गर्ने विषयमा बैठकमा छलफल हुने जनाएको छ ।बैठकमा इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनलगायत सबै तहको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी गर्न सुझाव सङ्कलनका विषयमा पनि छलफल हुने छ ।

पार्टीले उठाउँदै आएको  समान विचार राख्ने राजनीतिक दलहरू, सङ्घसंस्थासँग समन्वयका लागि भएका कार्ययोजना तथा प्रगति विवरणका बारेमा जानकारी गराइने छ । बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक प्रतिवेदन तथा महामन्त्री धवलशम्शेर राणाले देशभरको साङ्गठनिक योजनासहितको प्रतिवेदन प्रस्तुत गर्ने नेता श्रेष्ठले बताए ।

उनले बैठकमा मुलुकको पछिल्लो राजनीतिक, सामाजिक, आर्थिक अवस्थामा समीक्षा गरिने र संसद्‌मा पार्टीले निर्वाह गरेको भूमिकाबारे केन्द्रीय नेतालाई जानकारी गराएर संगठन सुदृढीकरणका लागि रणनीति तय गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस