लगानी सम्मेलनअघि ‘कन्ट्री रेटिङ’ गरिने : अर्थमन्त्री महत

सफल खबर संवाददाता

सोमबार, २५ मंसिर २०८०, २० : ०२
लगानी सम्मेलनअघि ‘कन्ट्री रेटिङ’ गरिने : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी सम्मेलनअघि नै नेपालको सार्वभौम साख मूल्याङ्कन (कन्ट्री रेटिङ) गरिसक्ने बताएका छन् । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनबारे सोमबार अर्थ मन्त्रालयमा विकास साझेदारसँगको छलफलमा मन्त्री डा. महतले यस्तो जानकारी गराएका हुन् ।

सम्मेलनअघि नै सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कानुनका विधेयक संसद्बाट चाँडै पारित भएर आउने पनि उनले बताए । अरु देशभन्दा नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्न आफूहरूसँग रहेको अर्थमन्त्री डा. महतले बताए ।

‘नेपालमा धेरै माग छ आपूर्ति कम छ । त्यसकारण नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो । नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, कृषि लगानीका सम्भावित उर्वर क्षेत्र हुन्,’ उनले भने । लगानीका क्षेत्रमा देखिएका समस्या हटाउन सरकारले गम्भीर भएर काम गरिरहेको पनि मन्त्री डा. महतले बताए । लगानी सम्मेलनलाई कसरी प्रभावकारी र नतिजामुखी बनाउन सकिन्छ भन्नेबारे विकास साझेदारसँग छलफल गरेको पनि उनले बताए । विकास साझेदारका अनुभवका आधारमा दिइने सुझावलाई आत्मसात् गर्दै कस्ता लक्ष्य र उद्देश्य लिनुपर्छ भन्नेबारेमा छलफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस